काठमाडौं । स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन्। सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन्। तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन्।

‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हुने विश्वास व्यक्त गरेकी छिन्। ५४ वर्षीया एन्डरसन यसअघि अर्थमन्त्री थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एान्डरसन नियुक्त भएकी थिइन् । उनी नियुक्त भएपछि संसद्मा सांसद्हरूले खुसी मनाएका थिए।

संसद्का ३४९ सांसद्मध्ये १७४ ले उनको विपक्षमा मत हालेका थिए। बजेटको विषयमा मतभेद भएपछि गठबन्धनमध्येका दुई राजनीतिक दल सेन्टर पार्टी र ग्रीन्स पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका थिए।

गठबन्धन साझेदार ग्रीन्स पार्टीले आफूले उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको बजेट अस्वीकार गरेको जनाएको छ। ‘सरकारको बजेटलाई हामीले समर्थन गर्न सक्दैनौं,’ सेन्टर पार्टीका नेता एन्नी लुफले भने। स्वीडेनमा सन् २०२२ को सेप्टेम्बरमा निर्वाचन हुँदैछ।