जापानकी एक वृद्धाले अदालतसमक्ष तीन श्रीमान् मारिसकेको र चौथोलाई मार्ने कोशिश गरेको बयान दिएकी छन् ।
चिसाको काकेही नामक ती महिलालाई सन् २०१४ मा पक्राउ गरिएको थियो र उनलाई अघिल्लो महिना क्योटोमा पुर्पक्ष गरिएको थियो ।
उनका वकिलहरूले उनका तर्फबाट बहस गर्दै उनी दोषी नभएको बताएका छन् । पुर्पक्ष शुरु भएपछि उनले सबै कुरा आफ्नो प्रतिरक्षा टोलीलाई छोडिदिएको बताइन् ।
तर अदालतमा उनलाई श्रीमान् मारेको हो कि होइन भनी सोध्दा उनले ‘कुनै गल्ती नभएको’ बयान दिइन् ।
यी ७० वर्षीया महिलाले आफूमाथि श्रीमानले आर्थिक रूपमा राम्रो व्यवहार नगरेकाले अपराध गरेको बताइन् । उनले एक साझेदारसँग साइनाइड विष हासिल गरेकी थिइन् ।
‘मैले उनलाई बिहे गरेपछि उनले मलाई केही पैसा दिएनन्,’ जापान टाइम्सले काकेहीलाई उद्धृत गर्दै लेख्यो । ‘मैले दोष लुकाउनुपर्ने नियत राखेको छैन । म त भोलि नै मृत्युदण्ड दिइएपनि यसलाई हाँसेर टारिदिन्छु अनि मरिदिन्छु ।’
अभियोजनकर्ताहरूका अनुसार काकेहीले पुरुषहरूलाई उनीहरूको पैसाका लागि तारो बनाउने गरेकी थिइन् र तिनीहरू सबैलाई साइनाइड विष दिएर मारिन् ।
सन् २००७ देखि २०१३ सम्म उनले ७० देखि ८० वर्षका मानिसको हत्या गरेकी थिइन् । उनका वकिलहरूले उनी डिमेन्सिया रोगबाट पीडित रहेको बताएका छन् ।
जापानी प्रेसले काकेहीलाई ब्ल्याक विडो नाम दिएका छन् । यौन सम्पर्क राखेपछि आफ्नो भाले पार्टनरलाई खाइदिने भएकाले पोथी माकुरालाई ब्ल्याक विडो (काली विधुवा) भन्ने गरिन्छ ।
बीबीसीबाट



