सामाजिक सञ्जाल प्लेटफर्महरूमा दुर्व्यवहार र धम्कीलाई रोक्न अष्ट्रेलियाले यस हप्ता नयाँ कानून ल्याउने भएको छ । प्रधानमन्त्री स्कट मोरिसन सरकारले ल्याउन लागेको यो कानूनपछि सामाजिक सञ्जाल प्लेटफर्महरूमा अपमानजनक वा हानिकारक सामग्री पोस्ट गर्ने व्यक्तिहरूको पहिचान खुलाउन कम्पनीहरू बाध्य हुनेछन् ।

आइतबार क्यानबेरामा प्रधानमन्त्री मोरिसनले भने, 'अनलाइन दुनियाँले धेरै अवसरहरू सिर्जना गरेको गर्छ । तर यसले केही जोखिम पनि ल्याएको छ जसले हाम्रो समाज र समुदायलाई नै ठुलो खतरा गराउँछ । यस्ता जोखिमलाई समाधान गर्नतर्फ लाग्न जरुरी छ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अष्ट्रेलियाली सरकारले यस्तो गुनासो गर्ने संयन्त्र खोजिरहेको छ जहाँ कुनै व्यक्तिलाई सामाजिक सञ्जालमार्फत आफूलाई बदनाम गर्ने वा आफूमाथि हमला गर्ने स्थिति देखियो भने त्यसलाई कम्पनीले समाधान गर्नुपर्नेछ ।

सामाजिक सञ्जाल कम्पनीले यसो गर्न नसकेको खण्डमा त्यहाँ अदालती प्रक्रिया सुरु हुनेछ र कम्पनीले अदालतमा सो व्यक्तिको परिचयहरू पेस गर्नुपर्नेछ ।

'अनलाइन संसार जङ्गली हुनुहुँदैन जहाँ कुनै अपरिचित व्यक्तिले कसैको बदनाम गरोस्, कसैमाथि हानी गरोस् कसैलाई दुर्व्यवहार गरोस्,' उनले अघि भनेका छन् । यस्ता सामग्री हटाउन कम्पनीहरूसँग पद्धति र प्रणाली हुनुपर्ने उनको भनाइ छ ।

'कसैले सामाजिक सञ्जालमा गलत पोस्ट राखिएको भन्दै कम्पनीलाई गुनासोमा राखेमा कम्पनीले तत्कालै हटाउन सक्ने क्षमता राख्नुपर्छ यो तिनीहरूको जिम्मेवारी हो, किनकि अनलाइन संसारको स्थापना पनि तिनीहरूले नै गरेका हुन्,' प्रधानमन्त्री मोसिनले भनेका छन् ।

गत वर्ष भारतले पनि यस्तै किसिमको कानुन ल्याएको थियो । सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर दुर्व्यवहार एवं अवैधानिक काम गर्नेहरूको बिगबिगी बढ्दै जाँदा विभिन्न मुलुकहरूले यस किसिमको कानुन ल्याउन थालेका हुन् ।