मेछाप खाँडादेवी गाउँपालिकास्थित राकाथुम हत्याकाण्डमा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०६६ असोजमा हत्या गरिएका निखिल भन्ने तिर्थमान दोङ तामाङको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय रामेछापले सुनापतिका ज्वाला भन्ने पदमवीर तामाङलाई सोमवार पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी नवराज ढुंगानाले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही घटनामा संलग्न रहेका दुई जना खाँडादेवी गाउँपालिका–१ राकाथुमका ५९ वर्षीय ज्ञानबहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई प्रहरीले मंसिर ११ गते पक्राउ गरेको थियो ।

‘काभ्रेको तेमाल गाउँपालिका–९, मेच्छेपौवा स्थायी घर भएका तिर्थमानलाई सोमवार पक्राउ परेका पदमवीरले २०६६ असोज ९ मा रामेछापको राकाथुममा बोलाए । साथीको अनुरोधमा राकाथुम आएका तिर्थमानको पदमवीरलगायतकै योजनामा घाँटी लगायत शरीरको विभिन्न ठाउँमा धारिलो हतियारको प्रयोग गरी हत्या गरिएको देखिन्छ,’ उनले भने ।

सिन्धुली र रामेछाप जोड्ने खैरेनिघाटस्थित सुनकोशीको पुलको ठेक्काको कमिसनको विषयमा उनीहरूको बीचमा विवाद भएपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

२०६६ असोजमा घटेको उक्त घटना १२ वर्षसम्म गुपचुप थियो । जिल्ला प्रहरी कार्यालय रामेछापले पुराना घटनाहरुको अनुसन्धान गर्ने क्रममा राकाथुम हत्याकाण्डका अभियुक्तहरू पक्राउ गर्न सफल भएको हो ।