भारतको नागाल्यान्डमा सैन्य अपरेसनका क्रममा सर्वसाधारणलाई गोली लाग्दा गाउँका १३ जनाको मृत्यु भएको छ । यसबारे अनुसन्धान गर्न विशेष टोली खटाउन लागिएको बताइएको छ ।
वाास्तवमा सुरक्षा बललाई म्यानमारसँगको नाका नजिक एउटा विशेष अपरेसनमा खटाइएको थियो । त्यसैले सम्भावित विद्रोहीहरुबारे गोप्य खबर पाएपछि सेना ओटिङ गाउँ पुगेको थियो । तर उनीहरुले गाउँकै मानिसहरु लिएर जाँदै गरेको एउटा गाडीमाथि हमला गरि गोली चलाएको श्रोतले बताएको छ । यसमा ६ जनाले घटनास्थलमै ज्यान गुमाएको र दुई जनाको अस्पताल लैजादा बाटोमै मृत्यु भएको थियो ।
यसलगत्तै आक्रोशित स्थानीयहरुले सेनालाई घेरेका हुन् । यसबीच दुईपक्षमा अर्को झडप हुँदा सेनाले प्रतिरक्षामा चलाएको गोली लागेर थप ५ जना सर्वसाधारणले ज्यान गुमाएको र अन्य ६ घाइते भएको बताइएको छ ।
यसमा एकजना सेनाको पनि झडपमा मृत्यु भएको बताइएको छ । साथै सेनाका तीन गाडीहरुमा पनि आगो लगाइएको थियो ।
यो अप्रत्याशित घटनाबारे उच्च स्तरीय अनुसन्धान भइरहेको र कानुन अनुरुप उपयुक्त कदम उठाइने बताइएको छ । घटनाबारे नागाल्यान्डका मुख्यमन्त्रीले अत्यन्तै निन्दनीय बताउँदै सम्पूर्ण मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका हुन् । दुर्घटनाका समयमा उनी दिल्लीबाट फर्कदै थिए ।
यता गलत अफवाह फैलन नदिन भनेर सो जिल्लाभरि मोबाइल इन्टरनेट र एसएमएस सेवा अवरुद्ध गरिएको हो ।



