इजरायलले गाजाबाट हुने हमासको आक्रमण रोक्नका लागि ६५ किलोमिटर लामो फलामे पर्खाल बनाएको छ ।
यस उच्च प्रविधियुक्त पर्खालमा अन्डरग्राउन्ड सेन्सर, रेडार र क्यामरा जडान गरिएको छ । गाजाबाट यो पर्खाल नाघेर आउने कोशिश गर्ने शत्रु इजरायलको सुरक्षाबलको दृष्टिमा पर्नेछन् अनि आँखा झिम्कने समयभित्र शत्रुलाई सिध्याइनेछ । इजरायलले यो ब्यारियर विगत साढे तीन वर्षदेखि बनाउँदै आइरहेको छ । सन् २००७ मा गाजामा हमासको शासन चल्न थालेदेखि नै इजरायलले यो ब्लकेड बनाएको हो ।
गाजामा लगभग २० लाख मानिस बस्छन् र उनीहरूलाई इजरायलले विभिन्न प्रतिबन्ध लगाएको छ । यो फलामे पर्खाल ६५ किलोमिटर लामो छ । इजरायलका रक्षामन्त्री बेनी गान्जले दक्षिण इजरायलका मानिस र आतंकवादी संगठन हमासबीच यसले फलामे पर्खालको काम गर्ने बताए ।
गत मे महिनामा हमास र प्यालेस्टाइनी लडाकूहरूबीच भएको लडाइँमा हमासले इजरायलतर्फ हजारौं रकेट आक्रमण गरेको थियो । जवाफमा इजरायलले पनि गाजा शहरमा कैयौंपटक आक्रमण गरेको थियो । रक्षामन्त्री गान्जका अनुसार, यस फलामे पर्खालले इजरायली सरकारलाई सुरक्षाको अनुभव गराउनेछ । इजरायलले जोर्डन नदीको पश्चिमी किनारामा पनि यस्तै किसिमको पर्खाल बनाएको छ ।



