विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न भन्दै तीन वटै तहका सरकारबीच सम्झौता भएको डेढ वर्ष बितिसक्दासमेत निर्माणको काम शुरू नभइरहेका बेला मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन् ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, १ नम्बर प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शेरधन राई तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको उपस्थितिमा पत्रमा हस्ताक्षर गरिएको थियो ।
विराटनगर विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री आलेले स्तरोन्नति गर्ने कामको समाचार केही दिनभित्रमै सुन्न पाउने समेत दाबी गरे । उनले सोमवार बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट छुट्याउने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विराटनगर, धनगढी र निजगढको कामका लागि बजेटको व्यवस्थापन गर्ने भनेकाले बजेटको व्यवस्थापन गर्ने उनले बताए । यस्तै मन्त्री आलेले विराटनगर विमानस्थलको शौचालयको अनुगमन गरेका छन् ।
शौचालय अनुगमन गर्दै उनले सफा राख्न निर्देशन दिएका छन् । उनले फोहोर देखेपछि कर्मचारीहरूसँग रिसाउँदै कार्यालयको सौन्दर्यता बढाउनसमेत निर्देशन दिएका थिए । त्यसै गरी उनले विराटनगर विमानस्थलमा ‘कनभियर बेल्ट’ बनाउने आश्वासन पनि दिएका छन् । प्रदेशको राजधानीमा रहेको विमानस्थल व्यस्त हुने गरेको र यात्रुहरूका झोलालगायतका अन्य सामग्री दिँदा विभिन्न झन्झट व्यहोर्नुपरेको गुनासो कर्मचारीले गरेका थिए । यसका लागि लागत ‘स्टिमेट’ गरेर मन्त्रालय पठाउनसमेत मन्त्री आलेले कर्मचारीलाई निर्देशन दिए ।



