भारतको काशीमा रहेको विश्वनाथ मन्दिरको कायाकल्प भएको छ । अब गंगाको किनारमा रहेका पुराना घाटहरूबाट सीधै बाबा विश्वनाथको मन्दिर पुग्न सकिन्छ ।
सात किसिमका पत्थरले विश्वनाथ धामलाई सजाइएको छ । त्यहाँ पुग्ने श्रद्धालुहरूले रुद्र वन अर्थात् रुद्राक्षका वृक्षहरू हुँदै विश्वनाथको दर्शन गर्न पाउनेछन् ।
काशी विश्वनाथ धाम कोरिडोर ५० हजार वर्गमिटरमा बनेको छ । यसलाई २१ महिनामा तयार पारिएको हो । निर्माणमा ७०० करोड भारु खर्च भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार अपराह्न विश्वनाथ धाम कोरिडोरको लोकार्पण गर्ने भएका छन् । लोकार्पण उत्सवलाई ५१ हजार स्थानमा प्रत्यक्ष प्रसारण गरिनेछ । मोदीकै अग्रसरतामा काशी विश्वनाथको कायाकल्प गरिएको हो । विश्वनाथ दर्शन गर्न आउने श्रद्धालुलाई गंगास्नानपछि मन्दिर प्रांगणमा पुग्न ८० वटा सिँढी चढ्नुपर्ने हुन्छ । सिँढी चढ्न नसक्नेहरूलाई एस्केलेटरको व्यवस्था छ ।
यस्ता छन् विशेषता :
चुनारका गुलाबी पत्थरहरूले सजाइएको,
गंगा भ्यु ग्यालरीबाट भक्तहरूले देख्नेछन् विश्वनाथ दरबार र गंगाको अविरल धारा,
पाइपलाइनबाट विश्वनाथ मन्दिरको गर्भगृहसम्म गंगाको धारा प्रवाह हुने,
भारत माता, आदि शंकराचार्य र महारानी अहिल्याबाईका प्रतिमा,
मुख्य मन्दिर परिसरको विस्तार गरेर ८० फीट लामो र ४० फीट चौडा परिक्रमा पथ,
१५७ जोडी खम्बाहरूमा बनेको परिक्रमा मण्डप,
३५२ वर्षपछि ज्ञानवापी मण्डप कूप र आदि विश्वेश्वरको नन्दी मुख्य मन्दिरको हिस्सा,
चारै दिशामा ३२ फीट अग्लो र ४० फीट चौडा किल्ला जस्ता ढोका लगायत ।



