डिजिटल बजारमा आफूलाई स्थापित गर्दै दुबई विश्वको पहिलो कागजरहित (पेपरलेस) सरकार बनेको छ। दुबईका युवराजले शेख हमदान बिन मोहम्मद बिन रासिद अल माक्टोमले दुबई कागजरहित सरकार बनेको घोषणा गरेका हुन्।

दुबईले सन् २०१८ देखि ‘दुबई कागजरहित रणनीति’ सार्वजनिक गरेको थियो। सोही योजनाअनुसारको लक्ष्य दुबईले हासिल गरेको हो। यो कार्यक्रममार्फत दुबईको समग्र सरकारले करिब ३५ करोड डलरबराबरको रकम बचत गरेको छ भने मानिसहरुको एक करोड ४० लाख घण्टाको काम पनि छोट्याएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार सार्वजनिक गरिएको विज्ञप्तिमा दुबईका युवराजले यो लक्ष्य हात पारेसँगै अब दुबई नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। डिजिटल दुबईका महानिर्देशकले अब दुबईको आन्तरिक र बाह्य सबै कारोबार डिजिटल माध्यमबाट हुने बताएका छन् ।साथै सबै सरकारी सेवा पनि डिजिटल माध्यमबाट हुनेछन्।

दुबईले आफ्नो कागजरहित रणनीतिलाई पाँच चरणमा गरी पूरा गरेको हो। प्रत्येक चरणमा सरकारी निकायका सीमित समूहलाई कागजरहित बनाउँदै लगेको थियो।