वडामा जङ्गली हात्तीको बिगबिगी बढेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् । भारतीय जङ्गलबाट नेपाल छिर्ने हात्तीको बथानले भद्रपुरका दक्षिणी भेगका जनतालाई दुःख दिन थालेपछि उनीहरु रातभर जाग्राम बस्न बाध्य भएका हुन् । पूर्वी झापाको बाहुणडाँगीमा नियन्त्रण भएपछि भारतीय हात्तीको बिगबिगी अहिले भद्रपुरको दक्षिणी भेग तिर सरेको हो ।
पछिल्लो केही महिनायता चन्द्रगढी सामुदायिक वनमा बस्दै आएका पाँचवटा हात्तीको समूहले साँझ परेपछि जङ्गल नजिकका बस्तीमा प्रवेश गरी घर भत्काउने, बाली खाइदिने तथा बोटबिरुवा र घरपालुवा जनवारमाथि आक्रमण गरी क्षति पु¥याउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।
केही दिन पहिले भद्रपुर १० स्थित बरपिपल चौकमा हात्ती प्रवेश गरी तीनवटा घरमा क्षति पु¥याएको थियो । जिल्ला वन कार्यालयको गस्ती टोलीले हात्ती धपाउन स्थानीयवासीलाई सहयोग गरिरहेको भए पनि समस्या हाल हुनसकेको छैन ।
प्रायः दिनहुँ जङ्गली हात्ती मानवबस्तीमा आउने क्रम बढ्दै गएपछि नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन स्थानियले माग गरेका छन् । उनिहरुले कतिबेला हात्ती आई मार्ने हो टुंङ्गो नै हुदैन, त्यसैले रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको बताउछन् ।



