एजेन्सी । विश्वव्यापी रुपमा इलेक्ट्रीक भेहिकलको चर्चा र माग बढ्दो क्रममा रहेको छ । विश्वका प्रमुख अटोमोवाइल कम्पनीहरुले इभीको उत्पादन बढाउन ठूलो धनरासी खर्च गर्ने घोषणा गरिरहेको छन् ।
यसले अबको एक दशकपछि बाटोमा गुड्ने अधिकांश सवारीसाधन इलेक्ट्रीक हुने देखाउँछ । इभीको रेन्ज बढ्नु र व्याट्री चार्जिङको समय कम हुँदै जानुले इभी प्रति आकर्षण बढाउँदै लगेको अनुमान गर्न कठिन छैन ।
तर, यहाँ कुनै पनि कम्पनीले एउटा प्रश्नको स्पस्टसँग उत्तर नदिदा इभी किन्ने मानिसलाई सधैँ तर्साइरहेको छ । कम्पनीले ८ वर्षसम्मका लागि व्याट्रीमा वारेन्टी दिएका त छन्, तर आठ वर्षपछि व्याट्री फेर्नु पर्ने अवस्थामा कति खर्च लाग्छ ? त्यसको उत्तर कुनै पनि उत्पादकले अहिलेसम्म दिएको छैन ।
उत्तरी यूरोपियन देश फिनल्याण्डमा एउटा आश्चर्यजनक घटना भएको छ । त्यहाँका एक इभी मालिकले व्याट्री फेर्न लाग्ने खर्च कम्पनीले सुनाएपछि त्यो गाडीलाई व्लाष्ट गराएका छन् ।
उनले धेरै पैसा लाग्ने उत्तर पाएसँगै आफ्नो इभीमा ३० केजी डाइनामाइट हालेर उढाएका हुन् । उनले उडाएको गाडी टेस्ला मोडल एस हो । फिन्ल्याण्डका नागरिक दोमस कटाइननसँग सन् २०१३ मा बनेको टेस्ला मोडल एस थियो । करिब ८ वर्ष उनले यसमा सानदार सवारी गरेका थिए । अचानक उनको गाडीको इन्ट्रुमेन्ट क्लस्टरमा मल्टीपल इरर कोड आउन थाल्यो । उनले उक्त गाडीलाई दुईवटा ट्रकको सहायतामा टेस्ला सर्भिस सेन्टर लगे ।
टेस्लाको सर्भिस सेन्टरले एक महिनाको अनुसन्धानपछि उक्त कारको व्याट्री प्याक नफेरी समस्या समाधान नहुने जानकारी दियो । उनले कार किने ८ वर्ष पुरा भएको कारण वारेन्टी थिएन । कम्पनीले उनलाई व्याट्री परिवर्तन गर्न २२ हजार ४८० डलर लाग्ने र अन्य पार्टस् समेत फेर्नु पर्ने बतायो ।
सर्भिस सेन्टरको कुरा सुनेपछि दोमस रिसले चुर हुन्छन् अनि उनले यो कार रिपियर गर्नुको साटो बम पड्काउने निर्णय गर्छन् । उनले कारमा ३० केजी डाइनामाइट र टेस्लाका सीइओ इलन मस्कको खेलौना आकृतीसमेत राखेर उडाई दिन्छन् ।
बमले कार उडाएपछि दोमसले भनेका छन्, ‘आफ्नो साधन पड्काउँदा मलाई केही फाइदा नभएपनि आत्मसन्तुष्टि भएको छ ।’
चर्को व्याट्री परिवर्तनको खर्चको कारण टेस्लाको कार बमबाट उडाउने पहिलो चलक बनेका दोमसले अब कस्तो गाडी किन्छन् त्यो भने खुलाइएको छैन । तर, यो घटनासँगै वारेन्टी पिरीयडपछि इभीको मर्मत खर्च र व्याट्री परिवर्तनमा लाग्ने खर्चको विषयमा भने गम्भिर प्रश्न उठेको छ ।



