दार्चुला — जिल्लाका सबै विद्यालयमा अध्ययनरत १२ वर्षमाथिका विद्यार्थीलाई सोमबारदेखि खोप लगाउन सुरु गरिएको छ । पहिलो र दोस्रो दिन स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर लक्षित समूहको आधा जति संख्यामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार १२ देखि १७ बर्ष उमेर समूहका अनुमानित २१ हजार ३३२ विद्यार्थीलाई मोडर्ना खोप लगाइनेछ । पहिलो चरणमा पुस ५ देखि पुस ८ गतेसम्म अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्ना खोप सामुदायिक विद्यालयमा नै गएर विद्यार्थीलाई लगाइने खोप सुपरभाइजर वीरेन्द्रप्रसाद भट्टले बताए । जिल्लाका १ सय ४७ विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ । यसका लागि १ सय ३६ खोप केन्द्र कायम गरिएको र दुई सय ७२ स्वास्थ्यकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
लक्षित उमेर समूहलाई खोप लगाउन १५ हजार बढी मात्रामा खोप स्थानीय तहको समन्वयमा स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइएको छ ।
‘खोप लगाउने काममा पालिकाबाटै टोली खटिएको छ,’ भट्टले भने, ‘यो हप्ताभित्रै लक्षित समुदायका बालबालिकालाई पहिलो मात्रा खोप लगाई सकिने छ ।’ जिल्लामा बिहीबार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रबाट १५ हजार ६ सय डोज खोप प्राप्त भएको छ । जिल्लामा बालबालिकाका लागि अपुग ५ हजार ७ सय ३२ डोज मोडर्ना खोप माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
एक महिनापछि दोस्रो मात्राको खोप दिइने छ । ओमिक्रोनको संक्रमणको जोखिम बढेसँगै बालबालिकाहरूमा पनि त्रास बढेको छ । यही भएर पनि बालबालिकाहरू खोप लगाउँदा खुसी देखिन्छन् । मोडर्ना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने जनाइएको छ । तत्काल लगाउनका लागि कम तापक्रममा राख्न सकिने स्वास्थ्यकर्मीले जनाएको छ ।
सोमबारदेखि बिहानको प्रार्थनापछि कक्षागत रूपमा पालैपालो विद्यार्थीले खोप लगाउन सुरु गरिएको महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशीले बताए । विश्वभर कोरोनाको अर्को भेरिएन्ट संक्रमण तीव्र फैलिरहेको अवस्थामा पढाइ प्रभावित हुने शंका बढेको थियो । पछिल्लो समय सरकारले विद्यालयमै पुगेर विद्यार्थीलाई लगाउन सुरु गरेपछि विद्यालय परिवार खुसी भएको उनले भने । कोरोना संक्रमण फैलिए सबैभन्दा बढी विद्यालय प्रभावित हुने हुॅदा समयमै सबै उमेर समूहलाई खोप लगाउने व्यवस्था सरकार गर्नुपर्ने उनको धारणा छ ।
तीन ठाउँबाट खोप लगाइँदै
जिल्लामा तीन ठाउँबाट नियमित खोप अभियान सञ्चालन गरेर कोरोनाविरुद्धको खोप दिइँदै आएको छ । गत महिनादेखि नेपाल–भारत सीमा जोड्ने खलंगा पुलघाटबाट नियमित रूपमा खोप लगाइँदै छ ।
शुक्रबार जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले थप दुई ठाउँबाट नियमित खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालबाट सार्वजनिक बिदाको दिनबाहेक १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
दार्चुलामा अहिलेसम्म १८ वर्ष उमेर माथिका ६९ प्रतिशतले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको संख्या ७९ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।



