मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट आएका पाँच नेता नेपाली कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

काठमाडौंमा सम्पन्न कांग्रेसको १४औं महाविधेशनबाट गोपाल दहित, गणेश लामा, रामजनम चौधरी, योगेन्द्र चौधरी र कल्पना चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खुलातर्फबाट उम्मेदवारी दिएका दहित १७१० र लामा १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

थारु खुलातर्फबाट उठेका रामजनम चौधरीले २५०३ र योगेन्द्र चौधरीले २१९८ मत प्राप्त गरे। थारु महिलातर्फबाट प्रतिस्पर्धा गरेकी कल्पना चौधरीले २५२४ मत सहित केन्द्रीय सदस्यमा निर्वाचित भइन्।

फोरम लोकतान्त्रिकबाट आएका शिवकुमार गुर्मछान र गीता चौधरी भने केन्द्रीय सदस्यमा पराजित भए।

सभापति शेरबहादुर देउवा प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका फोरम लोकतान्त्रिकका पूर्व अध्यक्ष विजय गच्छदार धनराज गुरुङसँग दुई मतले पराजित भए। गच्छदारको पराजय प्राविधिक मात्रै भएको र समग्रमा महाधिवेशन प्रतिनिधिहरूले आफूहरूलाई अनुमोदन गरेको फोरम लोकतान्त्रिकबाट आएर केन्द्रीय सदस्यमा निर्वाचित भएका एक नेता बताउँछन्।

३० असोज २०७४ मा देउवा र गच्छदारले हस्ताक्षर गरेर पार्टी एकीकरण गरेका थिए।