काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका लागि गृहकार्य सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा पुस २६–२८ मा हुने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन देउवा पुस २५ मा भारत जान लागेका हुन् ।
परराष्ट्र स्रोतका अनुसार भारतीय पक्षबाट देउवाको भ्रमणका लागि प्रस्ताव आएको छ । प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालयलाई भ्रमण तयारी गर्न निर्देशन दिइसकेका छन् । ‘प्रधानमन्त्रीको भ्रमणका लागि गृहकार्य भइरहेको छ, मन्त्रालयले अहिलेका लागि पुस २५–२७ को मितिलाई आधार मानेर तयारी भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘यो अन्य बेलाको जस्तो राजकीय भ्रमण हो/होइन भन्ने टुंगो लागिसकेको छैन ।’
देउवाको भ्रमणका दुई उद्देश्य रहेको स्रोतले बतायो । ‘पहिलो उनले गुजरात भाइब्रेन्ट ग्लोबल समिटमा सम्बोधन गर्नेछन् । दोस्रो, देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुनेछ,’ परराष्ट्र स्रोतले भन्यो, ‘अर्को सातासम्म भ्रमणको रूपरेखा प्रस्ट हुन्छ ।’
मोदीसँग देउवाको भेट गान्धीनगरमा हुने वा नयाँ दिल्लीमा हुने पनि टुंगो लागेको छैन । तर देउवा पहिला गुजरात जाने, त्यसपछि दिल्ली फर्केर मोदीसँग भेटवार्ता गर्ने गरी गृहकार्य भइरहेको छ । ‘द्विपक्षीय भेटवार्तामा कुन विषयमा छलफल गर्ने भन्नेबारे मन्त्रालयले गृहकार्य गरिरहेको छ,’ परराष्ट्रका एक अधिकारीले कान्तिपुरसँग भने, ‘अहिले फैलिरहेको कोरोना भाइरसको नयाँ स्वरूप ओमिक्रोन बढेमा भने उक्त समिट स्थगित हुन सक्छ, त्यसो भएमा भ्रमण रोकिन्छ ।’
देउवा असारमा पाँचौं पटक प्रधानमन्त्री भएपछि दोस्रो विदेश भ्रमण हुन लागेको हो । उनी यसअघि स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका थिए । स्कटल्यान्ड भ्रमणकै दौरान कात्तिकमा देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको थियो । सोही अवसरमा देउवाले मोदीलाई र मोदीले देउवालाई आ–आफ्नो देशको भ्रमण गर्न निम्तो दिएका थिए । देउवा प्रधानमन्त्री निर्वाचित भएर संसद्बाट विश्वासको मत लिएपछि मोदीले बधाई दिएका थिए । देउवाले पछिल्लो पटक सन् २०१७ मा भारतको पाँचदिने राजकीय भ्रमण गरेका थिए । त्यसबेला कांग्रेस र माओवादीको संयुक्त सरकार थियो ।
देउवा पछिल्लो समय मोदीसँग सम्बन्ध विस्तार गर्न चाहन्छन् । मोदी भने नेपालमा भारतविरोधी विचार बाहिर आइरहेकामा चिन्तित छन् । ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट–२०२२’ को १० औं संस्करणको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्नेछन् । पुस २६ मा हुने उद्घाटन सभा महात्मा मन्दिर कन्भेन्सन सेन्टरमा हुनेछ । साथै, उक्त अवसरमा नेपालसहित अन्य मुलुकका सरकार प्रमुखलाई पनि भारतले निम्तो पठाएको छ । त्यस अवसरमा भारतका विभिन्न राज्यका मन्त्री, विश्वव्यापी व्यापारिक नेता र सीईओहरू, राजदूतहरू, विश्वभरका बहुपक्षीय संस्था, व्यापार र व्यापार संगठनका अधिकारीहरूको सहभागिता रहनेछ ।
पछिल्लो समय नेपाल र भारतबीच सम्बन्ध चिसिएको छ । विशेषगरी दुवै मुलुकले नयाँ नक्सा जारी गरेपछि उच्चस्तरमा द्विपक्षीय कूटनीतिक संवाद हुन सकेको छैन । दुई मुलुकबीच चिसिएको सम्बन्धलाई अघि बढाउन पछिल्लो समय भारतीय पक्षबाट पनि पहल भइरहेको देखिन्छ । दुई सातायता भारतका रक्षामन्त्री राजनाथ सिंह र पर्यटनमन्त्री जी किसन रेड्डीले भारत र नेपालबीचको सम्बन्धमा कसैले फाटो ल्याउन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
मंसिर २९ मा उत्तराखण्डमा एक कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले नेपाल असल मित्र भएको उल्लेख गर्दै नेपालसामु आवश्यक परे झुक्ने तर सम्बन्ध बिग्रन नदिने बताएका थिए । यस्तै, पुस ८ मा पर्यटनमन्त्री रेड्डीले नयाँ दिल्लीमा केही शक्ति नेपाल–भारत सम्बन्ध तोड्ने प्रयासमा रहे पनि त्यसमा सफल नहुने बताएका थिए ।