अस्पतालबाट प्रहरीकै मोटरसाइकल लिएर फरार भएका घोराही कारागारका नाइके २८ वर्षीय जयराम परियार बिरामी नै नभए पनि अस्पताल लगिएको तथ्य उजागर भएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद सजाय भई कारागारमा रहेका परियार कुनै पनि बिरामी नभए पनि उपचारका लागि अस्पताल पठाइएको पाइएको सेतोपाटीलाई बताए।

‘कुनै पनि बिरामी नभएका कारागारका नाइके परियारलाई किन उपचारका लागि अस्पताल पठाइएको हो, त्यो कुराबाटै अनुसन्धान गर्नुपर्ने भएको छ,’ एसपी काफ्लेले भने, ‘अनुसन्धानपछि परियारलाई भगाउन क-कसको मिलेमतो छ भन्ने कुरा स्पष्ट भन्ने छौं।’

अनुसन्धानले जिल्ला कारागार घोराहीका जेलर युवराज परियारमाथि शंका देखाएको प्रहरी दाबी छ।

तर, परियारले भने, ‘कतिले जयरामलाई मेरै भाइ भनेर समेत लेखेको देखेँ, उनीसँग मेरो कुनै नाता पर्दैन र उनलाई मैले जेलर भएर आएपछि मात्रै चिनेको हो।’

बिरामी नभएका व्यक्तिलाई किन अस्पतालाई पठाइएको हो? भन्ने प्रश्नमा जेलर परियारले व्यक्तिगत रूपमा त्यो सबै कुरा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।

‘छाला सम्बन्धी समस्या छ भन्ने रिपोर्टिङ गरेपछि पठाइएको हो,’ उनले भने।

रिपोर्टिङकै आधारमा आफूले कारागार सुरक्षागार्डलाई छाला सम्बन्धी उपचारका लागि आफूले पठाएको जेलर परियारले जानकारी दिए।

कारागारका नाइके परियारलाई कारागार लैजाने जवानलाई प्रहरीले हिरासतमा राखेको हुँदा आफूसँग सम्पर्क नभएको र सोध्न समेत नपाएको जेलर परियारले बताए।

बिहीबार बिहान ११ बजेतिर उपचारका लागि नाइके परियारलाई कारागारबाट लगिएको भए पनि दिउँसो तीन बजेसम्म पनि नआएपछि आफूले खोजी गरेको जेलेर परियारले बताए।

‘दिउँसो तीन बजेसम्म पनि फर्किएर नआएपछि मैले सोधीखोजी गरेको थिएँ,’ जेलर परियारले भने, ‘त्यसपछि असई साहेबले उपचारमा लैजाने प्रहरी जवानलाई धेरै फोन गर्नुभयो, पहिलो फोन लाग्यो र पछि स्वीच अफ भन्यो।’

त्यसपछि धेरै पछाडि चार बजेतिर मात्रै ती प्रहरी जवानले अरुकै मोबाइल नम्बरबाट फोन गरेर कारागारका नाइके आफ्नो मोटरसाइकल लगेर फरार भएको सूचना दिएको जेलर परियारले जानकारी दिए।

जिल्ला प्रहरी प्रमुख एसपी काफ्लले परियारलाई भगाउन मद्दत गरेको आशंकामा थप तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

पक्राउ परेका तीन जनाको नाम भने खुलाइएको छैन। ‘परियारलाई भगाउन कम्तीमा पनि पाँच जनाले सहयोग गरेको देखिएको छ,’ एसपी काफ्लेले भने।

परियारले लगेर फरार भएको प्रहरी जवानको मोटरसाइकल शुक्रबार लमहीभन्दा केहीमाथि जंगलमा फेला परेको एसपी काफ्लेले बताए।

फरार परियारलाई खोज्न प्रहरीले जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा दुई दर्जनजति प्रहरी खटाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय