कतै तपाईं आफ्नो घरमा भाडामा बस्ने डेरावालसँग बिजुलीको महशुल धेरै लिने गर्नुभएको त छैन । यदि छ भने अबदेखि सतर्क रहनुहोला, नेपाल विद्युत प्राधिकरणले भाडामा बस्नेसँग बढी महशुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ ।
काठमाडौं उपत्यकाका धेरैजसो घरधनीहरुले डेरावालसँग बिजुली बढी महशुल लिने गरेको गुनासो बारम्बार सुनिदै आएको छ । यस्तो खालको उजुरी प्राधिकरणको कार्यालयमा आउने गर्थे । तर, बढी महशुल असुल्ने घरधनीलाई कहीँ कतै कारबाही भएको सुनिएको थिएन ।
प्राधिकरले हालसालै संशोधन गरेको विद्युत महशुल संकलन विनियमावलीमा घरधनीले डेरामा बस्नेसँग निर्धारितभन्दा बढी महशुल लिएमा बिजुलीको लाइन काटिदिने व्यवस्था गरिएको छ ।
ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महशुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेरावालले आफ्नो क्षेत्रको विद्युत वितरण केन्द्रमा उजुरी गर्न सक्छन् । यस्तो उजुरी आउने वित्तिकै प्राधिकरणले सम्बन्धित घरधनीलाई बोलाएर सचेत गराउनेछ । तर, अटेरी गरेको खण्डमा लाइन काटिदिने प्राधिकरणको भनाई छ ।
प्राधिकरणको महशुल दर प्रतियुनिट न्यूनतम ३ रुपैयाँदेखि अधिकतम १२ रुपैयाँसम्म रहेको छ । तर, घरधनीले भाडावालसँग विद्युत महशुल प्रतियुनिट १५ रुपैयाँदेखि २० रुपैयाँसम्म लिने गरेको भेटिन्छ ।
यसको मतलब सबै घरधनीहरुले बढी महशुल लिने गरेको भन्न खोजिएको होइन, तर बहुमत घरधनीले भाडावालसँग चर्को महशुल असुल्ने गरेको गुनासो छ ।
धेरैजसो घरबेटीले प्रत्येक फ्ल्याट वा कोठामा सबमिटर राखेर त्यसमा उठेको युनिटका आधारमा प्रतियुनिट १५ रुपैयाँभन्दा बढी दरले हिसाव गरेर भाडावालसँग महशुल उठाउँछन् । प्राधिकरणले तोकेको भन्दा बढी महशुल बुझाउनुपर्दा पनि डेरावालले निरिह भएर बढी महशुल बुझाउँदै आइरहेका थिए ।
विद्युत प्राधिकरणले भाडामा बस्नेहरुले छुट्टै मिटर राख्न चाहेमा तुरुन्तै उपलब्ध गराउने जानकारी गराएको छ ।