काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण दर बढेकाले भारतको राजधानी नयाँ दिल्लीमा ‘यलाे अलर्ट’ जारी गरिएको छ । लगातार तीन दिनसम्म कोरोना भाइरसको सङ्क्रमण दर ० दशमलव ५ प्रतिशतको दरले बढेमा ‘यलाे अलर्ट’ जारी गरिन्छ ।
आज मङ्गलवार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘यलाे अलर्ट’ जारी गरिएको घोषणा गर्नुभएको हो । ‘यलाे अलर्ट’ जारी गरेसँगै अब दिल्लीमा रातिको समयमा कर्फ्यु लगाइएको छ । यस्तै विद्यालय तथा कलेज बन्द हुने भएका छन् । अत्यावश्यक सामानको पसल मात्र समय मिलाएर खोल्ने र सार्वजनिक गाडीमा सिटको आधा सङ्ख्यामा यात्रु राखेर मात्र चलाउन पाइने भएको छ ।
दिल्लीमा अब राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागू हुनेछ । यस्तै शपिङ कम्प्लेक्स र अरू सामानको पसल बिहान १० बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइनेछ । सिनेमा हल, जिमखाना, योगशाला र पार्क बन्द रहने दिल्ली सरकारले जनाएको छ ।
मुख्यमन्त्री केजरीवालले भिड बढिरहेमा र ‘काेभिड प्राेटाेकल’ काे पालना नगरेमा सरकारले बाध्य भएर बजार बन्द गर्ने बताउनुभएकाे छ । ‘यसअघि भन्दा अहिले हामी धेरै तयार भएका छाैँ । हामी काेही पनि बिरामी नहाेस् भन्ने चाहन्छाैँ । त्यही कारण हामी तपाईँहरूलाई मास्क लगाउन भनिरहेका छाैँ, हामी जिम्मेवार हुनुपर्छ’, उहाँले भन्नुभएकाे छ ।