काठमाडौं– अंग्रेजी नयाँ वर्षको अवसरमा तनहुँका विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम हुने भएको छ। बन्दीपुर र दमौलीमा अंग्रेजी नयाँ वर्षको अवसरमा खाना महोत्सवका साथै सांगीतिक कार्यक्रम हुन लागेको हो।

पर्यटकीय नगरी बन्दीपुरमा दुई दिने सडक खाना महोत्सव आयोजना गरिएको छ। बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ र उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही पुस १६ र १८ गते खाना महोत्सव गर्न लागिएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको कक्ष रहनेछ। महोत्सवले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले बताए।

कोभिड–१९ को मारमा परेका होटल व्यवसायीलाई सडक खाना महोत्सवले केही राहत पुग्ने आशा गरिएको होटल व्यवसायी वैश गुरुङले बताए।

नयाँ वर्षकै अवसरमा लायन्स क्लब अफ तनहुँ दमौलीले पुस १६ गते सांंगीतिक कार्यक्रम गर्न लागेको छ। क्लबकै सक्रियतामा स्थापना गरिएको कपडा बैंकलाई दिगो बनाउन रकम संकलन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष राजु रानाले बताए।

क्लबका सदस्यबाट संकलन गरिएको ४ लाखको लगानीमा गत वर्ष कपडा बैंक स्थापना गरिएको थियो। हाल कपडा बैंकमा कपडा अभाव भएकाले विपन्न समुदायलाई कपडा वितरण गर्न समस्या परेको छ।