नारायणी नदीमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्षअगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपक्षी गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् । शुक्रबार नारायणी नदीको अमलटारी घाटदेखि त्रिवेणीसम्म जलपक्षी गणना गर्ने समूहले भेलौजी भन्ने स्थानमा डल्फिन फेला पारेको हो । भेलौजीमा नदीको बहाव शान्त र सतह गहिरो छ ।जलपक्षी गणना गरिरहेका टेक महतोले डल्फिनको फोटो खिच्न भ्याएका हुन् । ‘त्रिवेणीभन्दा केहीमाथि जलपक्षी गणना गर्दै गर्दा पानीमा डल्फिन खेल्दै गरेको देखियो । मसँग क्यामरा थियो । क्यामरामा कैद गरिहालेँ’, उनी भन्छन्, ‘डल्फिन देख्न सजिलो छैन । यसअघि तीन वर्ष अघि देखेको थिएँ ।’ २०७५ सालमा नारायणी नदीमा दुई वटा डल्फिन फेला परेका थिए ।

घडियाल गोहीको वासस्थान अनुगमन गर्ने क्रममा फेला परेका गोहीको फोटो खिच्न भने सकिएको थिएन । त्यसपछिका वर्षहरू नदीमा डल्फिन देखिएको थिएन ।डल्फिन स्तनधारी जलचर जीव हो । नेपालको नारायणीलगायत विभिन्न नदीहरूमा डल्फिन फेला परे पनि यसको संरक्षणमा सरकारले खासै चासो देखाएको छैन ।‘जलपक्षी गणना गर्दा धेरै वर्ष पहिला डल्फिन भेटिएको थियो । त्यसपछि अहिले पनि भेटियो’, जलपक्षी गणक डिबी चौधरीले भने, ‘यसपालि भेटेर फोटो खिच्न पनि साथीहरू सफल हुनुभयो ।’ चौधरीले पनि तीन वर्षअघि नारायणीमा डल्फिन देखिएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नारायणीमा केही वर्ष अगाडि दुई वटा डल्फिन भेटिएको रेकर्ड भए पनि त्यसको खोज तथा अनुसन्धान गर्ने काम भने नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । ‘नारायणी नदीमा दुई वटा डल्फिन देखिएको भनिएको छ । दुई वटा छ भनेर रेकर्ड राखिएको छ, तर त्यसको रिसर्च चाहिँ भएको छैन’, उनले भने ।