काठमाडौं । नेपालले लक्षित जनसङ्ख्याको ७०.७ प्रतिशतले कोभिड –१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबारसम्म १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनामध्ये कम्तीमा एक मात्रा खोप लगाउने ८६.९ प्रतिशत र पूर्ण मात्रा लगाउने ७०.७ प्रतिशत पुगेका छन् ।
यस्तै कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० मध्ये ६८.४ प्रतिशतले कम्तीमा एक मात्रा र ५१.१ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । यसअनुसार कुल जनसङ्ख्याको ५१.१ प्रतिशतले पूर्ण मात्रा र ६८.४ प्रतिशतले एक मात्रा खोप लगाएका छन् । नेपालले ७० प्रतिशतभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएकोमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बधाई दिएको छ ।
सङ्गठनको नेपालस्थित कार्यालयले उसको आधिकारिक फेसबुक र ट्विटर खातामा १८ वर्ष माथिका जनसङ्ख्याको ७० प्रतिशत नागरिकले पूर्ण खोप लगाएर कोसेढुङ्गा पार गरेको उल्लेख गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।



