
काठमाडौं । बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।
‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानून विपरीतका उल्लेखित गतिविधिहरु हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’ गृहमन्त्रालयले भनेको छ।
सरकारले एमसीसीलाई भोलि संसदमा टेबल गर्न लागेको भन्दै वामपन्थी दलहरुले नेपाल बन्दको आह्वान गरेका छन् । यस्तै सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् ।सरकारले भोलि नै एमसीसी पास/फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन् ।
मोर्चाले नेपाल बन्द सशक्त रुपमा सफल पार्न पार्टीपंक्तिलाई निर्देशनसहित सर्कुलर गरेको छ भने देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतालाई सक्रिय सहभागिताको लागि विशेष आव्हान गरेको छ ।बुटवलमा बसेको बैठकले बन्दलाई सफल पार्न सम्पूर्ण तयारी गर्ने बताएको छ ।
६ दलको बैठकमा एमसीसी विरुद्ध यसअघिका कार्यक्रमको समीक्षा गर्दै फागुन ४ गते नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण उद्योगी, यातायात व्यसायी, शैक्षिक संघसंस्था, पत्रकार, मानवअधिकारकर्मी एवं देशभक्त, प्रगतिशील, बुद्धिजीवीहरुलाई सहयोग गर्न अपील गरेको छ । बन्दको विहान ५ बजेदेखि साँझ ५ बजेसम्म रहने नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले बताउनुभएको छ । बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दमकल, दुधको गाडीलाई चल्न दिने बताइएको छ ।