पुराना र परम्परागत पार्टीहरूलाई पछि पार्दै आम आदमी पार्टी पन्जाबको सत्तामा आउँदैछ । यो चुनावी परिणाम कुनै राजनीतिक सुनामीको तुलनामा कम छैन । प्रकाशसिंह बादल, कप्तान अमरिन्दर सिंह, चारणजीत सिंह चन्नी र नवजोत सिंह सिद्धुजस्ता दिग्गज चुनावी मैदानमा पराजित भएका छन् ।

अझ चाखलाग्दो कुरा के छ भने पञ्जाबका ठूला नेताहरूलाई पराजित गर्ने आम आदमी पार्टीका उम्मेदवारहरू नयाँ अनुहार हुन् । यसमध्ये भदौर सीटबाट पञ्जाबका मुख्यमन्त्री चारणजीत सिंह चन्नीलाई पराजित गरेका आम आदमी पार्टीका लभ सिंह उगोकेको विशेष चर्चा भइरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लाभ सिंह उगोकेको उमेर मात्र ३५ वर्ष हो। उनी भदौर क्षेत्रमा पर्ने उगोके गाउँ निवासी हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी मोबाइल फोन पसल चलाउँथे । उनका बुबा ड्राइभर हुन् भने आमा गाउँको एउटा स्कुलमा सफाइ कर्मचारीको रूपमा काम गर्छिन् । उगोके सन् २०१३ मा आम आदमी पार्टीमा सामेल भएका थिए ।

सन् २०१७ मा उनले एएपी उम्मेदवार पिरमलसिंह खाल्साको चुनावी अभियानमा भदौरबाट सक्रिय सहभागिता जनाएका थिए । पिरमलसिंह खाल्सा पहिलो पटक खैरा गुटमा पुगेर पछि काँग्रेसमा प्रवेश गरेका थिए । यसपटक आम आदमी पार्टीले उगोकेलाई टिकट दियो । उनले चारणजीत सिंह चन्नीलाई ठूलो मतान्तरले पराजित गर्न सफल भए ।