किभ । युक्रेनमा अपाङ्गता भएका लाखौं मानिसहरु पछि छाडिएकाबारे विभिन्न सहयोगी संगठनहरुले चिन्ता जनाएका छन् । रुसी आक्रमणबाट भागेर जानेहरुमध्ये अपाङ्गता भएका एकदम कम मात्र सीमानासम्म पुग्न सकिरहेको बताइएको छ ।

त्यसैले परोपकारी संस्थाहरुले विशेष गरी त्यस्ता संवेदनशील समूहका मानिसहरुलाई मद्दत गर्ने प्रयास गरिरहेका छन् । हालसम्म दश लाख भन्दा बढी युक्रेनीहरुले देश छाडिसकेका छन् । तर कतिपय मानिसहरु सीमानासम्मको यात्रा तय गर्न नसक्ने अवस्थामा छन् भने अपाङ्गता भएका अनि ज्येष्ठ नागरिकहरु युद्ध छल्दै जान ठूलो संघर्ष गर्नुपरिरहेको अवस्था छ ।

समाजसेवी संगठनका स्वयंसेवकहरुले बताए अनुसार अपाङ्गता भएका मानिसहरुका लागि उचित यातायातको व्यवस्था नभएका कारण पनि उनीहरुलाई बाहिर निकाल्न कठिन भइरहेको छ । तिनका आवश्यकता सरकारी पक्षबाट सम्बोधन नहुँदा यात्रामा अधिक कठिनाइको सामना गर्नुपरिरहेको बताइएको छ ।

जस्तै अमेरिकासँग सहकार्य गरिरहेको एक अपाङ्गता अधिकार संगठनले एउटी ७० वर्षीया ज्येष्ठ महिलाको सहयोग गरिरहेको जानकारी दिएको थियो तर सवारी साधनको अभावका कारण आफूहरु तत्काल कतै सुरक्षित रुपमा जान नपाएको उनीहरु बताउँछन् ।

यसैगरी सिक्ने अक्षमता भएका बालबालिका र वयश्कहरु पनि आवसीय घर र देशभरका अस्पतालमै छाडिएको अवस्थाबारे चेतावनी दिइएको छ । अस्पतालका अधिकांश कर्मचारी युद्ध छाडेर भाग्दै गर्दा अशक्त र बिरामीहरु चाहिँ पछि परेका परेका छन् ।

युक्रेनमा कूल २७ लाख अपाङ्गता भएका मानिसहरु छन् भने २ लाख बढीमा चाहिँ बौद्धिक अशक्तता रहेको छ । युक्रेनबाट यो समुहका मानिसहरुलाई भाग्न सघाइरहेको अमेरिकी संगठनका अनुसार ठुल्ठुला संस्थाले पनि तिनको आवश्यकता पूरा गर्न नसकेपछि उनीहरु त्यहीं छाडिएका हुन् । जस्तै ह्विलचियरमा मात्र यताउती गर्न सक्ने मानिसहरुका लागि अहिले अधिक सहायता चाहिएको छ । त्यस्तै कतिपय मानिसहरुलाई चाहिँ सुताएर लानुपर्ने हुन्छ जसको पनि कुनै व्यवस्था नहुँदा अलपत्र अवस्थामा रहनुपरेको स्वयंसेवकहरुले बताएका छन् ।

स्वयंसेवक एना लेन्डर भन्छिन्, ‘यहाँ अपाङ्गता भएका मानिसहरुले सहयोगका लागि अपील गर्दा समेत उनीहरुलाई अरु नै विभागमा खबर गर्न भनि देशबाहिर लैजान अस्वीकार गरिराखिएको छ । र यति हुँदाहुँदै पनि कठिन परिस्थितिमा कोही सीमाना पुगिहाल्यो भने त्यहाँका शरणार्थी शिविरमा मद्दत पाउन एकदम गाह्रो छ ।

यसैगरी गाडीहरु ह्विलचियर अनुकूल नहुँदा उनीहरु जसरी पनि पछाडि नै पर्न बाध्य भइरहेका छन् ।’ यता कान नसुन्ने लगायत अशक्त पुरुषहरुलाई सेना भर्ती हुनबाट छुट दिनुपर्ने भएपनि जबरजस्ती नियुक्त गर्ने प्रयास गरिएको पनि उनले थप बताइन् । इन्डिपेन्डेन्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय