युक्रेनी सेनाले रुसमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ । आज शुक्रवार बेलग्रोदमा रहेको विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेनाले दुई वटा हेलिकप्टरबाट आक्रमण गरेको बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले यस्ता आक्रमणले रुस–युक्रेन बीचको शान्ति वार्तालाई प्रभावित पुर्‍याउन सक्ने बताउनुभएको छ । यसअघि बेलग्राेद क्षेत्रका गभर्नरले युक्रेनी आक्रमणमा तेल डिपो जलेर नष्ट भएको बताउनुभएको थियो । आक्रमणमा मानवीय क्षति भने नभएको खबरमा जनाइएको छ । केही समययता रुस र युक्रेनबीचको द्वन्द्व चलिरहेको छ ।

यसैबीच रुस–युक्रेन युद्धका कारण विश्वभर वस्तुको मूल्य आकाशिएको छ । यसले विश्वव्यापी रूपमा उपभोक्ताहरूलाई ऊर्जादेखि खानासम्मका विभिन्न वस्तुहरूका लागि बढी रकम तिर्नुपरेको अन्तर्राष्ट्रियस्तरका अर्थविज्ञहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बेलायतमा पेट्रोल र डिजेलको मूल्यले ‘झन्डै दैनिक’ रेकर्ड तोडेको छ । डेनमार्कमा पनि पेट्रोलियम पदार्थको भाउ उसैगरी बढेको छ । तेलको मूल्य बढेसँगै उपभोक्ताले आफ्नो खर्च कटौती गर्ने निर्णय गरेका छन् । मूल्य वृद्धिको प्रभाव युरोपबाहिर पनि परेको छ । धेरैले युक्रेन सङ्कटसँगको निकटता र रुसको ऊर्जामा निर्भरताका कारण युरोपले स्पिलओभरको असर लिने धारणा राखेका थिए । द्वन्द्वको विकास र विश्वव्यापी बजारमा धक्का लाग्दा विश्वव्यापी उपभोक्ताहरूले पीडा महसुस गरिरहेका छन् ।

मध्यपूर्वका धेरै देशले अन्न, तेल र मासुको मूल्य पनि बढेको बताएका छन् । रुस–युक्रेन द्वन्द्व चलिरहेको अवस्थामा मूल्यहरू उच्चस्तरमा रहने वा अझै बढ्ने अपेक्षा गरिएको र तत्काल समाधान नहुने टिप्पणीहरू भइरहेका सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय