बिर्तामोड — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमालेविरुद्ध चुनावी तालमेल गरेका गठबन्धन दलले उम्मेदवारी दर्ता गराएका छन् ।

दमकमा एमालेविरुद्ध सत्तारुढ दलहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेत गठबन्धनमा सामेल गराएका छन् । तालमेलअन्तर्गत कांग्रेस–माओवादी केन्द्रले राप्रपालाई नगरपालिकाको मेयरसहित दुइटा वडा दिने सहमति जुटाएका छन् ।
सहमतिअनुसार गठबन्धनका तर्फबाट राप्रपाका प्रदेश १ अध्यक्ष राम थापाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । नगरपालिकाको उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई प्रसाईंले उम्मेदवारी दर्ता गराएकी छिन् ।

चुनावी तालमेलअन्तर्गत दमकमा मेयरसहित १ र ७ नम्बर वडा राप्रपालाई, उपमेयरसहित ३, ४, ५ र १० कांग्रेसलाई तथा २, ६, ८ र ९ नम्बर वडामा माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति जुटेको हो । थापा दमकका पूर्वमेयर हुन् । प्रसाईं अघिल्लो चुनावमा उपमेयर पदमा पराजित भएकी थिइन् । दमकमा ५८ हजार १ सय ७६ मतदाता छन् । एमाले भने एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर