विराटनगर महानगरपालिकाको मतगणना आजै सुरु गर्ने तयारी गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दिएको जानकारी अनुसार मतगणनामा खटिने कर्मचारीको विवरण तयार भइसकेको छ ।
मतपेटिका संकलन सकेर सकेसम्म आजै विराटनगरको मतगणना सुरु गरिने उनले बताए । ‘सकेसम्म आजैदेखि सुरु गरौं भनेर हामी लागिरहेका छौं,’ प्रजिअ दाहालले भने, ‘तर, राती अबेर ११÷१२ बज्न सक्छ ।’
यता, विराटनगरका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने आज मतगणना गर्ने तयारी गरेको भएपनि सुरु कतिबेला हुन्छ भन्न सकिने अवस्था नरहेको बताए ।

यसैबीच झापाको दमक नगरपालिकाको पनि आजै मतगणना कार्य सुरु गर्ने तयारी भएको छ । दमकका निर्वाचन अधिकृत केशव प्रसाद पन्तका अनुसार मतपेटिका संकलनको काम भइरहेको छ । मतपेटिका संकलन भएपछि सर्वदलीय छलफल गरेर मतगणना सुरु गरिने उनले बताए ।

यता, सुनसरीको धरान उपमहानगरपालिकामा भने मतगणना भोली बिहान ८ बजेदेखि हुने भएको छ । ‘हामीले सर्वदलीय बैठक गरेर भोली बिहान ८ बजेदेखि मतगणना गर्ने सहमति गरेका छौं,’ नेपाली कांग्रेस धरानका नगर सभापति श्याम पोखरेलले भने । यता, सुनसरीको इटहरीमा अहिलेसम्म पनि कतिपय मतदानस्थलमा मतदान भइरहेको कारण मतगणनाको टुंगो नलागेको बताइएको छ । Source: ratopati.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय