दमक/झापामा साउन १५ बितिसक्दा पनि ७२ प्रतिशतमात्र रोपाइ भएको पाइएको छ । अघिल्लो आर्थिक बर्षमा यो अवधिमा ८७ प्रतिशतभन्दा बढि रोपाइ भएको थियो ।
अन्नको भण्डार मानिने झापामा खडेरीका कारण रोपाइ कम भएकाले धान उत्पादनमा गिरावट आउनसक्ने जिल्ला कृषि बिकास कार्यालय झापाले अनुमान गरेको छ ।
जिल्ला कृषि बिकास कार्यालय झापाकी योजना अधिकृत तथा सूचना अधिकारी शितल भट्टराइका अनुसार आकाशे पानीमा निर्भर रहेका किसानहरुले धान लगाउन पाएका छैनन् ।
सामान्यतया साउन १५ सम्मलाइ रोपाइ गर्ने समय मानिने भएकाले अब यसबर्षको रोपाइ प्रतिशत यसैको हाराहारीमा रहन सक्ने उनले बताइन् ।
अझै केहि समय किसानले पानी परेको समयमा धान रोप्न सक्ने भएकाले अन्तिम नै भनेर भन्न नसकिने भट्टराइको भनाइ रहेको छ ।
गत बर्ष ८७ हजार ५ सय हेक्टरमा रोपाइ भएकोमा यो बर्ष अहिलेसम्ममा ६५ हजार ८ सय हेक्टरमा मात्र रोपाइ भएको छ । यो तथ्याङ्क आइतवार बेलुकासम्मको भएको जनाईएको छ ।
जिल्लामा ९८ हजार ७ सय १६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ९० हजार हेक्टरमा धान खेती हुने गरेको जिल्ला कृषि कार्यालय झापाको तथ्याङ्कमा उल्लेख रहेको छ ।
यसमा ४६ हजार ७ सय ६२ हेक्टरमा सिचाइ सुबिधा रहेको छ भने बाँकी आकाशे पानीमा निर्भर रहेको भट्टराइले जनाएकीछन् ।
सिचाइ नपुगेको क्षेत्रमा खडेरीका कारण धान मर्न तथा सुक्न थालेको र पहेले लागेजस्तो देखिने गरेको भट्राइले जनाए । किसानहरुले लगाएको धान मर्न थालेपछि किसानहरु चिन्तित भएकाछन् ।
सरकारले झापाले धानको सुपरजोन घोषणा गरेपनि किसानहरुले पनि केहि लाभ लिन नसकेको भन्दै गुनासो समेत गर्दै आएकाछन् ।
गत बर्ष जिल्लामा ५ लाख १७ हजार ९ सय ६५ मेट्रिक टन धान उत्पादन भएकोमा आँउदो बर्ष यो घट्ने देखिएको छ ।



