
कतार फिफा विश्वकप सुरु हुन अब एक दिन मात्र बाँकी छ र खेल सुरु हुनुअघि नै मैदानमा फरक किसिमको खेल सुरु भएको छ । रिपोर्टका अनुसार आयोजक राष्ट्र कतारले म्याच फिक्सिङ्गको आरोपको सामना गरिरहेको छ । कतारले आफ्नो पहिलो खेलको प्रतिद्वन्द्वी इक्वेडरलाई घुस दिएको आरोप लागेको छ ।
ब्रिटिश मिडल इस्ट सेन्टर फर स्टडीज एन्ड रिसर्चका क्षेत्रीय निर्देशक अमजद ताहाका अनुसार कतारले विपक्षी खेलाडीहरूलाई घूस दिइएको छ ।
ताहा र अन्य आन्तरिक स्रोतका अनुसार कतारले इक्वेडरका आठ खेलाडीलाई प्रतियोगिताको उद्घाटन खेलमा हार्नका निम्ति ७.४ मिलियन डलर अर्थात ९६ करोड घुसमा दिएको छ ।
ताहाको पनि दाबी छ– ‘यो खेल कतारले १–० ले जित्नेछ र खेलको एक मात्र गोल दोस्रो हाफमा आउनेछ ।’
फिफाले विश्वकपमा म्याच फिक्सिङ्ग रोक्न एफबीआईको सहयोग लिएको छ । किनभने विश्वकपमा विश्वभर १०० अर्ब डलर अथार्त १३.०९ लाख करोड रुपैयाँभन्दा बढीको बाजी लाग्ने अनुमान गरिएको छ ।
म्याच फिक्सिङ्ग रोक्न फिफाले पहिलो पटक टास्क फोर्स बनाएको छ । यसमा बेटीङ्ग मार्केटलाई रोक्न सट्टेबाजी बजार अनुगमन गर्ने अन्तर्राष्ट्रिय फर्म, इन्टरपोल, इन्टरनेशनल बेटिंग इन्टिग्रिटी एसोसिएसन र एफबीआई समावेश छ । यी संस्थाहरुले हरेक खेलको सूक्ष्म अनुगमन गर्नेछन् ।
यो कार्यदलले गोलदेखि पहेँलो कार्डसम्मका अनियमिततामा नजर राख्नेछ । स्पोर्ट्स रडारका अनसार यस वर्ष करिब ६ सय खेल भएका छन्, जसमा हेरफेर हुने सम्भावना रहेको छ ।