
कतार सरकारले विश्वकप आयोजनाका क्रममा ४०० देखि ५०० सम्म आप्रवासी श्रमिकको ज्यान गएको पहिलो पल्ट स्वीकार गरेको छ।
कतार विश्वकप आयोजनाको उच्च समिति (सुप्रिम कमिटी फर डिलेभरी एण्ड लिगेसी) का महासचिव हस अल–थावाडीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तर्वार्तामा यो कुरा स्वीकार गरेका हुन्।
मोर्गनले अन्तर्वार्ताका क्रममा सोधेका थिए, ‘विश्वकपका लागि काम गरिरहेका श्रमिक, जसको निधन भयो, इमान्दार र वास्तविक कुल संख्या कति हो?
यसको जवाफमा थवाडीले भने, ‘अनुमानित संख्या ४ सयको हाराहारीमा हुनसक्छ। ४०० देखि ५०० को बीचमा। म अहिले ठ्याक्कै बताउन सक्दिनँ।’
यसअघि कतारले विश्वकप आयोजनाको लागि रंगशाला निर्माणका क्रममा ४० जनाको मात्र निधन भएको दावी गरेको थियो। यसमा पनि ३७ जना रंगशालाभित्रै कामको क्रममा नभई अन्यत्र निधन भएको र मात्र ३ जनाको कामका सिलसिलामा निधन भएको बताएको थियो।
अन्तर्राष्ट्रिय संघ–संस्थाले २०१४–२०२१ को अवधिमा १६ हजारभन्दा बढी आप्रवासी श्रमिकको निधन भएको दावी गरेका थिए।
अल थावाडीको अन्तर्वार्ता सार्वजनिक भएपछि सुप्रिम कमिटीले पनि एउटा वक्तब्य सार्वजनिक गरेको छ। र, उसले भनेको छ, ‘अल थावाडीले २०१४–२०२० सम्म विभिन्न काममा ज्यान गुमाएका व्यक्तिको विषयमा बोलिरहेका थिए।’
कतार सरकारले २०१० मा फिफा विश्वकप आयोजनाको जिम्मेवारी पाएपछि रोजगारीको कानुनमा थुप्रै संशोधन भएको बताएको छ। उसले कफाला नियमलाई हटाएको र मजदूरलाई काम गर्न सहज बनाएको दावी गरिएको छ।
कतार विश्वकपका लागि नेपाली श्रमिक लगायत दक्षिण एसियाली देश भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका कामदारहरू बढी खटिएका थिए। यसमा पनि भारतपछि नेपालको संख्या ठूलो थियो। हाल कतारमा ४ लाख नेपाली रहेको अनुमान छ।