युरोपेली मुलक आयरल्याण्डले फेसबुकको मातृ कम्पनी मेटामाथि भारी रकम जरिवाना गरेको छ ।

करोडौं फेसबुक प्रयोगकर्ताका डाटाहरु अनलाइनमा प्रकाशित भएको कारण देखाउँदै आयरल्याण्डको डाटा सुरक्षण आयोगले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मातृ कम्पनी मेटामाथि २६ करोड ५० लाख डलर जरिवाना गर्ने निर्णय गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आयोगका अनुसार ५३ करोड ३० लाख भन्दा धेरै फेसबुक प्रयोगकर्ताका फोन नम्बर तथा इमेल ठेगानाहरु अनलाइन ह्याकिङ फोरममा सार्वजनिक भएका छन् ।

आयोगले सन् २०२१ को अप्रिलदेखि यो विषयमा अनुसन्धान सुरु गरेकोमा अन्ततः उक्त विषयमा मेटालाई दोषी ठहर गर्दै जरिवाना गरेको हो ।

फेसबुकले भने धेरै वर्ष अगाडि अनलाइनमा देखिएका प्रयोगकर्ताका डाटाहरु ह्याक भएका डाटा नभै काम नलाग्ने पत्रु डाटा रहेको दाबी गरेको छ ।

स्क्रयापिङ भनेको यस्तो विधि हो जसमा अटोमेटेड सफ्टवेयर प्रयोग गरी इन्टरनेटका डाटाहरु निकालेर अनलाइन फोरममा हालिन्छ ।

करोडौं प्रयोगकर्ताका डाटाहरु अनलाइनमा सार्वजनिक हुनु आफ्नो मुलुकमा विद्यमान जनरल डाटा सुरक्षण नियमावलीको दफा २५ को उल्लंघन रहेको आयोगको ठहर छ ।

यसरी प्रयोगकर्ताका डाटा ह्याकर फोरममा सार्वजनिक हुँदा प्रयोगकर्ताहरुमाथि स्क्यामिङ, स्पामिङ, स्मिसिङ, फिसिङका साथै आफ्नो व्यक्तिगत डाटामाथिको नियन्त्रण समेत गुम्ने जोखिम रहने भएकाले मेटामाथि २६५ मिलियन डलर जरिवाना गरिएको डाटा सुरक्षण आयोगका आयुक्त हेलेन डिक्सोन बताउँछन् ।

उता फेसबुकका प्रवक्ताले भने प्रयोगकर्ताका डाटाको सुरक्षा तथा गोपनियताको संरक्षण कम्पनीको आधारभूत कार्य रहेको भन्दै यस विषयमा आइरिस डाटा सुरक्षण आयोगसँग सहकार्य गरिरहेको बताएका छन् ।

यसअघि आयरल्याण्डको उक्त आयोगले फेसबुकमाथि अहिलेसम्मकै धेरै ४० करोड ५० लाख डलर जरिवाना गरेको थियो ।