मार्च ५ देखि कतारको राजधानी दोहामा आयोजित अतिकम विकसित राष्ट्रहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनबाट नेपालले अतिकम विकसित राष्ट्र (एलडीसी) को कोअर्डिनेसन व्युरोको अध्यक्षको जिम्मेवारी प्राप्त गरेको छ ।
उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए भने सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार राति स्वदेश फर्किएका छन् ।
अतिकम विकसित, अल्प विकसित र भूपरिवेष्ठित राष्ट्रहरूले कोभिड महामारीपछिको स्थिति सम्हाल्न, जलवायु संकटले पैदा गरेका चुनौतीको सामना गर्न, वित्तीय चुनौतीको सामना गर्न र अन्तर्राष्ट्रिय व्यापारीक प्रबन्धलाई सहज गर्न नयाँ ढङ्गले सोच्नुपर्नेमा सम्मेलनले जोड दिएको पनि श्रेष्ठले जानकारी दिए ।
सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्याउदै संयुक्त राष्ट्रसंघ, त्यसका निकायहरू र सबै विकास साझेदारहरूले सघाउनुपर्ने नेपालको जोड थियो ।