सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको सुरू गरेको घोषणा गरेको छ।
सुरक्षा योजना शुभारम्भसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकले समेत कोषमा आबद्ध भएर योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको लाभ प्राप्त गर्न पाउने छन।
वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नविकरण गर्ने बेला र नविकरण गर्ने बेला नभएकाहरू पनि सहभागी हुन सक्छन।
त्यसको निम्ति हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ तर सात महिनाभन्दा बढीको रकम एकमुष्ट जम्मा गरेमा १० प्रतिशत छुट पाइने छ।
खल्ती, ईसेवा र कनेक्ट आइपिएसमार्फत् नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ।
के हो सामाजिक सुरक्षा कोष? यस अन्तर्गत के के सुविधा पर्छन?
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबाट श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार किसिमका सुविधा पाउनेछन् ।
श्रमिकले कुनै पनि रोगको उपचार गराउँदा वार्षिक एक लाख रूपैयाँसम्म को उपचार भएको प्रमाण कोषमा दिएपछि अस्पतालको खातामा रकम जम्मा व्यवस्था छ ।
दुर्घटना तथा अशक्तता सुरक्षा अन्तर्गत कार्यक्षेत्रमा दुर्घटना हुँदा सबै उपचार खर्च कोषले व्यहोर्नेछ भने बाहिर दुर्घटना भए उपचारका लागि बढीमा सात लाख रूपैयाँसम्म व्यहोर्ने छ ।
श्रमिकको मृत्यु भए उसका पति वा पत्नीले आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले पेन्सन पाउनेछन ।
वृद्धावस्था सुरक्षा अन्तर्गत कम्तिमा १५ वर्षसम्म कोषमा योगदान गरेका श्रमिकले ६० वर्ष उमेर पुगेपछि पेन्सन पाउनेछन् । पेन्सनका लागि श्रमिकले कोषमा जम्मा भएको रकम एकमुष्ट निकाल्न वा महिनावारी रुपमा लिन पाउनेछन ।