
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको शासन समाप्त गरिदिने चेतावनी दिएपछि प्योङयाङले कडा प्रतिक्रिया जनाएको छ । उत्तर कोरियाले परमाणु क्षमतालाई झनै बढाउने र आफूहरू अमेरिका र दक्षिण कोरियासँग नडराउने बताएको हो ।
उत्तरको सरकारी समाचार संस्था केसीएनएका अनुसार किमकी शक्तिशाली बहिनी किम यो जोङले आफ्ना दाइको शासन समाप्त गरिदिने चेतावनी आएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कमजोर वृद्ध र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई मूर्ख व्यक्तिको संज्ञा दिएकी छिन् ।
उनले भनेकी छिन्,‘कमजोर वृद्ध र मूर्ख व्यक्तिबाट बेकारको चेतावनी आएको छ ।’
गतहप्ताको बुधबार अमेरिकी राष्ट्रपतिको कार्यालयमा बाइडेन र योलले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै उत्तर कोरियाबाट परमाणु हमला भएको खण्डमा किम जोङ उनको शासन समाप्त गरिदिने बताएका थिए ।
अमेरिका र दक्षिण कोरियाबीच परमाणुअस्त्र सम्बन्धी सम्झौता पनि भएको छ ।
सम्झौताअनुसार अमेरिकी आणविक क्षमताको पनडुब्बी दक्षिण कोरियामा तैनाथ हुनेछ । पछिल्लो सम्झौता उत्तर कोरियाली आक्रमणको सामना गर्न अमेरिकाले दक्षिण कोरियालाई गरिरहेको सहयोग मध्येमै पर्छ ।
अमेरिका र दक्षिण कोरियाबीच परमाणुअस्त्रबारे सम्झौता भएपछि किमकी बहिनी किम यो जोङले उनीहरूको सम्झौताले खतरनाक अवस्था निम्तनसक्ने पनि उल्लेख गरेकी छिन् । उत्तर कोरियालाई कम आँकेर अमेरिका र दक्षिण कोरियाको गलत हिसाब गरेको पनि उनको भनाइ छ ।
उनीहरुको सम्झौताले उत्तर कोरियालाई झनै परमाणु कार्यक्रम मजबुत बनाउन विश्वस्त बनाएको प्योङयाङ बताउँछ ।
किम यो जोङले अमेरिकी र दक्षिण कोरियाली चेतावनीको प्रतिकार गर्दै भनेकी छिन्,‘हाम्रो सबैभन्दा विरोधी शत्रुबाट धम्कीपूर्ण बयानबाजी आएको छ, यसको लागि उनीहरु ठूलो आँधीबेहरीको लागि तयार हुनुपर्छ ।