तीर्थ सिग्देल/भद्रपुर
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पिंजडामा राखेको सुंगाको संज्ञा दिनुभएको छ । गृहजिल्ला झापामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पिँजडामा राखेको सुगा भएकै कारण देउवा सरकारले बेलाबेला संबिधान संसोधनको रटान लगाइरहेको ठोकुवा गर्नुभयो ।
उहाँले अपवित्र गठबनधनका रुपमा रहेको वर्तमान सरकार राज्यसत्ता दुरुपयोगमा तल्लीन रहेको तथ्य पनि राख्नुभयो । एउटा सुंगाले जतिबेला पनि गोपी कृष्ण कौ भनेर भनिरहने बानी लागे जस्तो यो सरकारले पनि संबिधान संशोधनलाई सुंगा रटान लगाएर काम न काजको काम गरेको दाबी गर्नुभयो ।
संविधान संशोधन कुनै पनि हालतमा नहुने स्पष्ट पार्दै ओलीले एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने ठाुकुवा गर्नुभयो । प्रेस चौतारी झापाले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष ओलीले दलीय स्वार्थ पूर्तिका लागि राज्य दोहन गर्ने वर्तमान सरकार घरमा पालिएको सुँगा जस्तै भएको बताउनु भयो ।
‘बेला न कुबेला संविधान संशोधनको रटान ओकलेर सत्तास्वार्थ अगाडि राख्ने यो सरकारले नीति र नियमको धज्जी उडाएको छ,’ ओलीले भन्नुभयो, ‘लोकतान्त्रिक पार्टी भन्ने अनि देश र जनतालाई घात गर्ने सम्झौता गरेर स्वार्थी राजनीति गर्ने दलहरुको गठबन्धन अपवित्र छ ।’
भरतपुर निर्वाचन परिणाम एमालेले जितेको भए पनि प्रहरी प्रशासनको दुरुपयोग गरेर कांग्रेस माओवादी गठबन्धनले जीत उल्ट्याएको तथ्य पनि ओलीले राख्नुभयो । ओलीले राजपालाई निर्वाचनमा जान नदिनकै लागि देउवा सरकारले संविधान संशोधनको बखेडा झिकेको तर्क गर्नुभयो ।
‘राजपालाई निर्वाचनमा जान नदिनकै लागि देउवा सरकारले संविधान संशोधनको बखेडा झिकेको हो, यस्मा कसैले भ्रम पाल्न जरुरी छैन, ओलीले भन्नुभयो । उहाँले एमालेविरुद्ध मधेशका जनता भड्काएर निर्वाचन जित्ने कांग्रेस र माओवादीको सपना चकनाचुर हुने ठोकुवा पनि उहाँले गर्नुभयो । उहाँले जनताको बिश्वास जित्नका लागि सबै दल निर्वाचनमा आउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा महासचिव ईश्वर पोखरेलले एमालेको नेतृत्वबिना देशका समस्या समाधान नहुने बताउनु भयो । उहाँले सबै निर्वाचनमा एमाले पहिलो पार्टी बन्नुको विकल्प नरहेको यथार्थ जनतामा स्थापित गर्नुपर्ने बताउनु भयो । उहाँले एमालेलाई सिध्याएर देशमा ब्रम्हलुट मच्चाउने सपना पाल्ने पार्टीहरुको राष्ट्रघाती सोचको अन्त्यका लागि नेपाली जनताले सोच बिचार गर्नुपर्ने बताउनुभयो ।



