नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुधबार पक्राउ गरेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव (पीए) नरेन्द्र केसी पेसाले शिक्षक हुन् । तर केसीका सहकर्मीअनुसार उनी यति पहुँचवाला थिए कि खाँण मन्त्री हुनेबित्तिकै पीएको नियुक्ति पाइहाल्थे ।

भरतपुर महानगरपालिका १९ स्थित शारदा माविको प्रधानाध्यापक पद छाडेर उनी पीए बन्न काठमाडौं आइपुगेका थिए । ‘शिक्षा मन्त्रालयले उहाँलाई काजमा पठाइदिनू भनेर निर्देशन दियो,’ शिक्षा विकास तथा समन्वय इकाई चितवनका पूर्व अधिकृतले भने, ‘व्यवस्थापन समितिबाट निर्णय गराएर काजमा काठमाडौं पठाएका थियौं ।’

खाँण गत पुसमा गृहमन्त्रीबाट हटेपछि केसीले पुनः सोही विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । गएको आइतबारदेखि भने उनी बिदामा बसेर काठमाडौं गएका सहायक प्रधानाध्यापक एन्डिला रिजालले जानकारी दिइन् ।

‘दुर्घटना परेर पछिल्लो समय बिदामा बस्नुभएको थियो,’ ‘हात र घुँडा दुख्यो, चेक गराउनुपर्‍यो भनेर वैशाख २४ गतेदेखि घर बिदामा बस्नुभएको हो ।’

केसी बिदामा बसेपछि शारदा माविमा कक्षा १२ को परीक्षाको केन्द्राध्यक्षको जिम्मेवारीसमेत राष्ट्रिय परीक्षा बोर्डले रिजाललाई नै दिएको छ । प्रहरीले उनलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको छ । खाँण रक्षामन्त्री हुँदा समेत केसी पीए थिए ।

त्यतिबेला उनी अरुणोदय मावि चितवनका प्रधानाध्यापक थिए । पढाउन छाडेर पटक/पटक उनी खाँणका निजी सचिव बनेका थिए । ‘अरुणोदय माविबाट सरुवा भएर शारदा माविमा आएपछि गृहमन्त्रीको पीए बस्न जानुभयो,’ ती अधिकृतले भने, ‘काज फिर्ता भएपछि फेरि शारदा माविकै प्रअको जिम्मेवारीमा हुनुहुन्छ ।’

शिक्षक संघमा आबद्ध उनी शिक्षक भन्दा पनि कांग्रेस कार्यकर्ता रहेको इकाईमा चर्चा हुने गर्छ । ‘उहाँ नियमित विद्यालय जाने/पढाउने भन्दा पनि बढी कांग्रेसको झण्डा बोकेर हिँडने, नेताको भनसुन लगाएर काज र बिदामा बस्ने गर्नुहुन्थ्यो,’ चितवनका एक शिक्षकले आरोप लगाए ।

शिक्षकलाई शैक्षिक क्रियाकलापबाहेक अयन्त्र काजमा खटाउने व्यवस्था नभए पनि उनलाई खाँणकै दबाबमा गृहमन्त्रालय पठाइएको शिक्षा मन्त्रालयका एक उपसचिवले जनाए । निजामति कर्मचारीलाई जस्तो शिक्षकलाई शिक्षण क्रियाकलाप बाहेकको काममा खटाउन नहुने उनले बताए ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाँण पक्राउ परेलगत्तै प्रहरीले पीए केसीलाई पनि पक्राउ गरेको हो ।

पक्राउ परेका खाँण र केसी दुवैलाई प्रहरीले महानगरीय प्रहरी परिसर टेकुमा राखेको छ । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । पाण्डे पनि सचिव हुनुअघि शिक्षा सेवाका सहसचिव थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर