नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिलेको राजनीति एउटा अप्ठ्यारो स्थितिमा रहेको देखिन्छ । राजनीतिप्रति जनतामा निराशा बढेको छ । नेताहरूप्रति पनि निराशा बढेको छ । निराशा बढेपछि विकल्प के ?’, प्रश्न गर्दै उनले भने, ‘पहिला त अझै क्रान्तिकारी पार्टी भनेर विकल्पको रुपमा मान्छेहरू दर्शन हेर्ने गर्थे । सिद्धान्त हेर्ने गर्थे । त्याग, तपस्या र बलिदान हेर्ने गर्थे । अहिले त्यो हेरिरहेका छैनन्, अहिले कता कता सोसल मिडियाबाट प्रभावित भएर नयाँ पुस्ताले उनीहरूलाई सजिलै मानिसकेका छन् । उनीहरूले सहजै आफ्नो तर्फ तान्न थालेका स्थिति छ ।’
उनले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको भन्दै नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने कुरा देखिएको बताए । उनले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्ने कुरा भ्रष्टाचारका काण्डहरुले दिइरहेको बताए । उनले भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे । उनले नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढिरहेको बताए ।
उहाँले भन्नुभयो, ‘नेपालको भविष्य के हुने हो ? भन्ने नेपाली जनताको भविष्य के हुने हो ? नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ । यी सबै प्रश्नको जवाफ एक पछि अर्को सबै भ्रष्टाचारका काण्डहरुका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ की नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन् ।
उपप्रधान एवं गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईँले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरु जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस् । नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ ।’
अध्यक्ष नेपालले पछिल्लो समय सामाजिक सञ्जालको लहडमा नेताहरू मान्ने तर कसैको त्याग र बलिदान हेर्न भुल्ने गरेको बताए ।