नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका एमाले सचिव तथा प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीले संसद सचिवालयलाई पत्र पठाएको खुलेको छ । उनले सचिवालयमा पत्र पठाएको सचिवालयका प्रवक्ता एकराम गिरीले पुष्टि गरे ।
उनले आफू बिरामी रहेकाले संसदको बैठकमा उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएका हुन् । संसद अधिवेशन सुरु भएर प्रतिनिधिसभाको बैठक २४ वैशाखयता दैनिक बसिरहेको छ । फरार भएकाले उनी बैठकमा उपस्थित हुन सकेका छैनन् ।
त्यसैले बिरामी भएको दाबी गर्दै पत्र पठाएका हुन् । संसद बैठकमा अनुपस्थित हुने सांसदको विदा स्वीकृत हुनुपर्ने व्यवस्था छ ।
आजै नेकपा एमालेले उनलाई पार्टी सचिवबाट निलम्बनसमेत गरेको छ । गत बुधबार पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।