प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
संसद्मा सांसद्हरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको धारणा मागेपछि सभामुख घिमिरेले सरकारलाई यसबारे जानकारी गराउन रुलिङ गरेका हुन् । घिमिरेले भने,‘माननीय सदस्यहरू अहिले उठेका विषयमा म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’
संसद् बैठकमा सांसद् राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले अहिलेसम्म गरेको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।
लिङ्देनले भने,’यो आर्थिक भ्रष्टाचार मात्रै होइन,राज्य विरुद्धको जघन्य अपराध हो । यसमा संलग्न कुनैपनि मानीसलाई छुट दिनुहुँदैन र कसैलाई पनि उन्मुक्ति दिनु हुँदैन । प्रहरीले अनुसन्धान नगर्ने हो कि भन्ने कुरा पनि आउन थालेका छन् । ’
जघन्य अपराधमा देशको बेइज्जति गर्ने काम भइरहेको उनले बताए । लिङ्देनले भने,‘यो लज्जास्पद विषय हो । ठुलठुला मानिसहरूको नाम छ्यापछ्याप्ति आइरहेको छ । शीर्षस्थ नेताको बैठकलाई समेत आशंकाको रुपमा हेरिरहेका छन् । सरकारले आफ्नो प्रतिवद्धता र अहिलेसम्म भएका कारबाहीबारे जानकारी गराउन माग गर्छौं ।’
भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरण आर्थिक भ्रष्टाचार मात्र नभइ राज्यविरुद्धको जघन्य अपराध भएको उनले बताए।