नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिल कार्यालय लगिएको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका उनलाई केही बेरअघि सरकारी वकिल कार्यालय बबरमहल लगिएको हो ।

त्यहाँ उनीसँग थप बयान लिइनेछ । यसअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्व गृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ ।

योसँगै खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्ने जनाइएको छ ।

अब आजदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणको बयान थालिने भएको हो । जिल्ला अदालत काठमाडौँले यो मुद्दा अनुसन्धानका लागि आइतबार खाँणविरुद्ध थप चार दिन समय दिएको छ ।

सोही प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय