रुसले युक्रेनको राजधानी किभमा मंगलबार बिहान झिसमिसेमै घातक हवाई आक्रमणहरू गरेको छ ।
युक्रेनका अनुसार मंगलबार बिहान उज्यालो हुन नपाउँदै रुसी सेनाले ब्यालिस्टिक क्षेप्यास्त्र, क्रुज क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हो ।
किभको सैन्य प्रशासनका अनुसार आज कतिपटक युक्रेनी सेनाले हवाई आक्रमण गर्यो भनेर खुल्न सकेको छैन । तर, आफूहरूले धेरै ड्रोन हमला र केही क्षेप्यास्त्रलाई विफल बनाएको उनीहरूको भनाइ छ । रुसी हवाई आक्रमण कति सफल भयो भनेर पनि खुलाइएको छैन ।
तर, रोयटर्सले सार्वजनिक गरेको भिडियोमा शहरको आकाशमा आगोका झिल्का र विस्फोटनको आवाज सुन्न सकिन्छ । अप्रिलयता रुसले लामो दूरीको क्षेप्यास्त्र युक्रेनमा पुनः आक्रमण गर्न थालेको देखिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आइतबार र सोमबारको विदेश भ्रमणबाट फर्किएसँगै रुसले राजधानी किभमै हवाई हमला गरेको हो । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूले विदेशबाट शक्तिशाली हतियारहरू ल्याएको दाबी गरेका छन् ।
युक्रेनले अब चाँडै रुसविरुद्ध जवाफी कारबाही थाल्ने पनि बताइसकेको छ । जसका कारण युक्रेनका राष्ट्रपति हतियार सहयोग माग्न विदेश भ्रमणमा गएका थिए ।
आइतबार र सोमबार बेलायत, फ्रान्स र जर्मनीले घोषित रूपमै युक्रेनलाई हतियारहरू दिने प्रतिबद्धता जनाएका छन् । अमेरिका र नेटोबाट पनि औपचारिक रूपमै युक्रेनमा हतियार आपूर्ति भइरहेको छ ।
केही समयमै युक्रेन कब्जा हुने अनुमानबीच अहिले रुस र युक्रेनबीच जारी युद्ध १५ महिनामा प्रवेश गरिसकेको छ । रुसले केही हप्ताअगाडि आफ्नो विजयी दिवसमा पश्चिमा राष्ट्रले एक भएर आफूविरुद्ध युद्ध छेडेको संकेत दिएका थिए । उनले अब विश्व परिवर्तनको नयाँ विन्दुमा पुगेको पनि उल्लेख गरेका थिए ।
विश्लेषकहरूले रुसको यस्तो अभिव्यक्तिलाई उसले परमाणु हतियार प्रयोग गर्ने विषयलाई इंगित गरिरहेको टिप्पणी गरेका छन् । पछिल्ला दिनहरूमा युक्रेनविरुद्ध रुसी आक्रमण धेरै हदसम्म कमजोर भएको पनि पाइएको छ ।