काठमाडौँ । इजरायल र प्यालेस्टाइनको हमासबीच युद्ध चलिरहेको छ । दुवै पक्षबीचको युद्धका कारण धेरैले ज्यान गुमाइसकेका छन् । यो क्रम निरन्तर चलिरहेको छ ।

इजरायले हमासबिरुद्ध युद्धको घोषणा गरेर आक्रमणलाई तीव्रता दिइरहेको छ । उता हमासले समेत आक्रमण दिएर धेरै इजरायलीलाई मारेको घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाइरहेका छन् ।

यस्तो अवस्थामा त्यहाँ रहेका नेपालीहरू त्रसित बनेका छन् । विगतमा हुने आक्रमणको तुलनामा निकै खतरनाक मानिएको यो आक्रमणबाट नेपालीहरू त्रसित बनेका हुन् ।

झन्डै ५ हजारको हाराहारीमा नेपाली रहेको इजरायलमा हालसम्म ९ जना नेपाली घाइते भएका छन् । उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त अवस्थापछि हामीले फेसबुक प्यासेन्जर, ह्वाट्सएप लगायतका माध्यमबाट इजरायलमा रहेका नेपालीहरूसँग सम्पर्क गरेका छौँ । उनीहरुले विगतको तुलनामा यो पटकको आक्रमण निकै खतरनाक रहेको बताएका छन् । उनीहरूकै आग्रहमा सबै जनाको परिचय गोप्य राखेका छौँ ।

इजरायलको तेलअबी नजिकै एक नर्सिङ होममा काम गर्दै आएकी एक स्वास्थ्य सहायक (केयर गिभर) ले निकै त्रासको अवस्था रहेको बताइन् ।

‘आज बिहानैदेखि गोलाबारी सुरु भएको थियो । रकेट आक्रमण जारी छ । मिनेट मिनेटमा रकेट आक्रमण भइरहेको छ । आँखै अगाडि रकेट आक्रमण भइरहेको छ । गोलाबारी चलिरहेको छ । बाहिर हेर्न सकिने अवस्था छैन’ उनले भनिन् ।

आज बिहान इजरायली समयअनुसार ६ बजेतिर हमासले इजरायलका धेरै ठाउँमा एकैपटक १०० भन्दा बढीको हाराहारीमा रकेट आक्रमण गरेको थियो । त्यसपछिबाट निरन्तर आक्रमण जारी रहेको उनको भनाई छ ।

आफ्नै आँखा अगाडि रकेट आक्रमण देखिएको उनको भनाई छ । त्यस्तै हतियारसहित आएका आतङ्ककारीहरूले समेत अन्धाधुन्ध गोली चलाएको ती केयर गिभरको भनाई छ ।

‘म आज बिहान ६ बजेदेखि ड्युटीमा आएको थिए । ड्युटी आएको केही समयमा नै एकाएक रकेट आक्रमण हुन थाल्यो । मेरो ड्युटी नजिकै रकेट खस्यो । एकाएक रकेट खसेपछि हामी निकै डराएका छौँ । बाहिर अन्धाधुन्ध गोली चलिरहेको देखिएको छ । अब के हुन्छ भन्न सकिने अवस्था छैन’ उनले भनिन् ।

त्यस्तै तेलअबी नजिकै एक नर्सिङ सेन्टरमा कार्यरत अर्की केयर गिभरले पनि डराई डराई काम गर्नुपरेको बताइन् ।

रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘अवस्था निकै डरलाग्दो छ । भयावह अवस्था छ । ९ जना नेपालीहरू घाइते भएको घटनाले नेपालीहरू थप चिन्ता र पीडामा छौँ’

काममा गइरहेपछि कतिबेला के हुने भन्ने डरै डरले काम गर्दै आएको उनको भनाई छ । विगतमा हुने रकेट आक्रमणको तुलनामा यो पटक निकै भयानक अवस्था रहेको उनको भनाई छ ।

यो पटक हवाई आक्रमण, समुद्र र स्थलमार्ग हुँदै आक्रमण भएपछि अवस्था गम्भीर बनेको हो ।

‘विगतमा हुँदा सामान्य जस्तै लाग्थ्यो । यो पटक त आतंकवादीहरु समेत निकै आक्रामक भएर आएजस्तो देखिन्छन् । तेलअभी, जेरुसेलम लगायतका क्षेत्रमा लक्षित गरेर बढी आक्रमण भइरहेको छ’ उनले भनिन् । रातो पाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय