बिष्णुप्रसाद पोखरेल
दमक/गतसाता झापामा परेको अविरल बर्षा र बाढीका कारण झापामा कृषि क्षेत्रमा १ अरव ६ कारोडभन्दा बढि क्षति भएको जिल्ला कृषि बिकास कार्यालय झापाले लगत निकालेको छ ।
स्थलगत अध्ययन गरेर र सुक्ष्म रुपमा क्षति विवरण संकलन गर्दा सबैभन्दा बढि धान खेती र माछा खेतीमा असर पुगेको बताईएको छ ।
जिल्ला कृषि बिकास कार्यालय झापाकी सूचना अधिकृत शितल भट्टराइका अनुसार जिल्लाका १५ वटै तहमा बर्षा र बाढीका कारण १ अरव ६ करोड ८८ लाख ५५ हजार मूल्य बराबरको बालिनालीमा क्षति पुगेका छ ।
यसमा सिचित गरेर तथा भण्डारन गरिएको बस्तुहरुको भने समावेश नगरिएको र यसको पनि मोल जोड्दा अझ धेरै क्षति पुगेको उहाँले बताउनु भयो ।
सूचना अधिकृत भट्टराइका अनुसार किसानले लगाएको ७ हजार हेक्टर धान बालिमा क्षति पुगेको छ । धानवालीमा मात्र ८८ करोड ५५ लाख रुपिया बराबरको क्षति भएको पाईएको हो । उत्पादन तथा उत्पादकत्वलाइ आधार बनाएर यसको मूल्याङ्कन गरिएको समेत भट्टराइले जनाउनु भयो । किसानहरुले लगाएको धानमा बालुवा भरिएको छ भने कतिपय बगाएर नै लगेको छ ।
यसैगरि जिल्ला कृषि बिकास कार्यालय झापाका अनुसार ६५ हेक्टरमा लगाइएको माछा नष्ट भएको छ । यसबाट करिब ५ करोड ६८ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ ।
जिल्लामा पछिल्लो समयमा माछा खेतीप्रति आकर्षण बढ्दै गएको थियो । किसानहरुले लगाएका माछाहरु खोलाले बगाएको छ भने कतिपय माछा खाडि पुरिएकाछन् ।
बर्षा र बाढीले तरकारीबालीमा पनि ठूलै क्षति पुर्याएको भट्टराइले बताउनु भयो । उहाँका अनुसार २ सय हेक्टरमा लगाइएको तरकारी खेती नष्ट भएको छ ।
यसबाट १२ करोड ६० लाख भन्दा बढिको क्षति भएको छ । तरकारी खेती नष्ट भएपछि अहिले बजारमा तरकारीको मूल्य दोब्बरभन्दा बढि भएको पाइन्छ ।
जिल्लामा रबर खेतीमा पनि असर पुगेको जनाईएको छ । रबर खेती बगाउदा करिब ४ लाख ८० हजार मूल्य बराबरको क्षति भएको भट्टराइले जनाउनु भयो ।
यसैगरि किसानहरुले सिचित गरेर राखेको अनाजमा पनि ठूलो क्षति पुगेको र यसको मूल्य निर्धारण गरिनसकिएको बताइएको छ ।
सूचना अधिकृत भट्टराइका अनुसार धान, मकै, गहूँ, चामल, दाल लगायतका कृषि उपभोग्य सामाग्रिहरु धेरै नष्ट भएको छ । उहाका अनुसार ६७ दशमल २५ मेट्रिकटन भण्डारन गरिएको कृषि उपज नष्ट भएको छ । ३ दशमल ७ मेट्रिकटन बीउबिजन नष्ट भएको जिल्ला कृषि बिकास कार्यालय झापाले प्रतिवेदन बनाएको छ ।



