काठमाडौं, ५ भदौ — घरमा शौचालय बनाउन नमान्ने श्रीमानलाई पारपाचुके दिनका लागि एक भारतीय महिलालाई त्यहाँको अदालतले अनुमति दिएको छ ।

उक्त महिलाले विवाह गरेको पाँच वर्ष भइसकेको थियो र उनले सधैं नजिकैका खेतमा गएर दिसा गर्नुपर्ने बाध्यता थियो ।
भारतीय कानूनले घरेलु हिंसा वा क्रूरताको पुष्टि भएमा मात्र पारपाचुकेको अनुमति दिन्छ ।
उक्त महिलाका वकिलले एएफपी समाचार संस्थालाई बताएअनुसार न्यायाधीशले खुलामा दिसा गर्नु एक किसिमको यातना भएको बताएका थिए ।
राजस्थानको अदालतले महिलाहरू रात परेपछि खेतमा गएर दिसा गर्न बाध्य भएको र त्यतिन्जेल उनीहरूले दिसा रोक्नुपर्ने स्थिति रहेको बताएको थियो ।
द टाइम्स अफ इन्डियाले अदालतको फैसलालाई उद्धृत गर्दै लेख्यो ः ‘हामीहरू सुर्ती, रक्सी र मोबाइल फोनका लागि पैसा खर्च गर्छौं र आफ्नो परिवारको इज्जत जोगाउनका लागि शौचालय निर्माण गर्न चाहँदैनौं । गाउँहरूमा महिलाले दिसा गर्नका लागि सूर्यास्त कुर्नुपर्छ । यो शारीरिक क्रूरता मात्र नभई महिलाको इज्जतमाथिको प्रहार हो ।’
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त महिलाले सन् २०१५ मा पारपाचुकेको निवेदन दिएकी थिइन् ।
खेतमा खुला दिसापिसाब भारतका गाउँमा सामान्य मानिन्छ । सरकारले सन् २०१९ सम्म सबै घरमा शौचालय बनाउने लक्ष्य लिएको भएपनि यसको प्रतिकार समेत भएको छ ।
गत वर्ष युनिसेफले निकालेको आँकडाअनुसार भारतको आधी जनसंख्याले शौचालय प्रयोग गर्दैन ।
बीबीसीबाट



