प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्न सकिने भनि भारतीयसँग प्रतिबद्धता जनाएको प्रति सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएको छ । 
उनले देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लग्न सकिने भनेर दिएको अभिव्यक्तिप्रति ईङ्गित गर्दै भने, ‘संविधानले देशका सम्पूर्ण शक्ति र समुदायको भावना समेट्नु पर्छ भन्नेमा हामी प्रष्टै छौं । तर, भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । तसर्थ, तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो, यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’
माओवादी केन्द्र प्रदेश नं। ६ को प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका प्रचण्डले पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएका हुन् ।
उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थीरता दिने समेत बताए ।
राष्ट्रपतिको बिकल्प नभएकाले माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका पक्षमा देशव्यापी अभियान चलाउने बताए ।
प्रचण्डले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउँदै भने , ‘जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन । माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ, हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।



