अमेरिकाको टेक्सास राज्यस्थित समुन्द्रतटीय क्षेत्रमा डरलाग्दो आँधीबेरी आएको छ।
‘हुरीकन हार्बी’ नाम दिइएको आँधीबेरीका कारण टेक्सासको दक्षिण समुन्द्रतटीय ठूला शहर ह्युष्टन, कर्पस क्रिस्टी, ग्लाबस्टनजस्ता पर्यटकीय क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ।
टेक्सासको महत्वपूर्ण पर्यटकीय क्षेत्र स्यान इन्टिनिओ र टेक्सासको राजधानी अस्टिनसम्म पनि आँधीबेरीको असर परेको छ।
यो आँधीबेरीबाट चालीस लाखभन्दा बढी मानिसहरु प्रभावित हुने अनुमान गरिएको छ। कर्पस क्रिष्टी, भिक्टोरियाजस्ता समुन्द्रतटका पर्यटकीय शहरहरु खाली गरिएका छन्।
खाली नगरिएका तर आँधीबेरीले छुन सक्ने कतीपय ठाउँका बजारमा पसलहरु रित्तिएका छन् र खाद्यान्न अभाव देखिएको छ। तटीय क्षेत्र नजिकका विमानस्थल, विद्यालय, व्यापार सबै बन्द गरिएका छन्।
मानिसहरु उत्तरतर्फका सुरक्षित क्षेत्रहरुतर्फ लागिरहेका छन्। अमेरिकी समय अनुसार, शुक्रबार राती ११ बजेसम्म क्षतिको विवरण आइसकेको छैन। शनिबार बिहानबाट मात्र क्षतिको विवरण आउन थाल्ने अनुमान गरिएको छ।
शनिबार बिहानसम्म आँधीबेरी निरन्तर रहने र त्यसपछि पनि अरु दुई तीन दिन त्यस क्षेत्रमा भारी वर्षा हुने मौसमविदहरुले बताएका छन्।
प्रतिघण्टा एक सय ३० माइलको गतिमा हुरी चलिरहेको र तटीय क्षेत्रमा ३५ इन्च सम्मको वर्षा भएको सम्वद्ध अधिकारीहरुले जनाएका छन्। भारी वर्षाका कारण ठूला बाढी पहिरोहरु जानसक्ने अनुमान गरिएको छ।
डरलाग्दो मानिने ‘क्याटगोरी–४’ को यो आँधीबेरी अमेरिकामा १२ वर्ष यताको सबैभन्दा ठूलो आँधीबेरी हो। यसअघि सन् २००५ मा लुजियाना, मिसिसिपी लगायत राज्यहरुमा आएको ‘कट्रिना’ नामको आँधीबेरीमा १८ सय जनाको ज्यान गएको थियो। हुरिकन हार्बी, हुरिकन कट्रिना भन्दा पनि खतरनाक हुनसक्ने विज्ञहरुले बताएका छन्।
ह्युष्टन लगायत आँधीबेरी प्रभावित क्षेत्रमा करिब २० हजार नेपाली रहेको अनुमान गरिन्छ। एनआरएनए अमेरिकाको टेक्सास क्षेत्रका उपाध्यक्ष राम सि पोखरेलले आँधीबेरी प्रभावित क्षेत्रका नेपालीसँग आफु निरन्तर सम्पर्कमा रहेको र शुक्रबार अबेर रातीसम्म नेपालीहरु सुरक्षित रहेको बताए।
आँधीबेरी प्रभावित क्षेत्र ह्युष्टनमा बसोबास गर्दै आएका वरिष्ठ पत्रकार तारा बरालले धेरै नेपालीहरु बस्ने ह्युष्टनका बिभिन्न ठाउँमा सतर्कता अपनाउन भनिएपनि खाली गर्न सूचना नदिइएको बताए। उनले नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेको र हालसम्म नेपालीहरु खतरामा परेको जानकारी नपाएको बताए।
टेक्सासको सबैभन्दा बढी नेपालीहरु बस्ने डलास फोर्टवोर्थ क्षेत्रमा भने आँधीबेरीको प्रभाव छैन। डलास फोर्टवोर्थबाट आँधीबेरी आएको क्षेत्र ६ सय किलोमिटर टाढाको दुरीमा पर्छ।



