
रौतहटको फतुवा विजयपुर नगरपालिकामा मनोनयन दर्ताको लागि बुझाइएको एकजना उम्मेदवारको फाइल नै गायव भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । नेकपा माओवादी केन्द्रबाट नगरपालिकाको वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्न फाइल बुझाएका प्रमोद पासवानको फाइल नै गायब भएपछि निर्वाचनको प्रक्रिया अवरुद्ध भई तनावको स्थिति श्रृजना भएको हो ।घटना र विचार मा खबर रहेको छ ।
माओवादी कार्यकर्ताहरुले विजयपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् । मतदाता नामावली प्रकाशन गर्नुपर्ने दिन माओवादीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालयमा फाइल खोज्न माग गर्दै कामकाज रोकेपछि निर्वाचन प्रक्रिया नै अवरुद्ध भएको हो ।
निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले माओवादी केन्द्रको तर्फबाट वडा नम्वर ३ को लागि मनोनयन दर्ता गर्न फाइल नै नआएको बताएका छन् भने माओवादी केन्द्रको तर्फबाट फतुवा विजयपुरका मेयरका उम्मेदवार सुरेन्द्र राय यादवले आफूले डेढ बजे पुगेर आफूसँगै फाइल दर्ता गराएको तर निर्वाचन कार्यालयले फाइल नै गायब पारेपछि राति १२ बजेदेखि नै फाइल खोज्न दबाब दिइरहेको बताएका छन् ।
उम्मेदवारले फाइल नै गायब भएको र निर्वाचन कार्यालयले भने फाइल नै नआएको भनी दुई विपरित दाबी भएको अवस्थाको बारेमा कार्यालयले निर्वाचन आयोगलाई पत्र लेखेर पठाएको विजयपुर नपाका निर्वाचन अधिकृत कोइरालाले बताएका छन् ।
नगरको सबै पदका गरी दुई सय ७१ जनाको मनोनयन दर्ताको लागि आएकोमा एक जनाको फाइल हराउने सम्भावना नभएको निर्वाचन अधिकृत कोइरालाको दाबी छ । रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले आफूले पनि फतुवा विजयपुरमा एकजना उम्मेदवारको मनोनयन दर्ताको लागि दिएको फाइल हराएको विषयमा सुनेको र निर्वाचन अधिकृतलाई फोन गरेर फाइल खोज्न निर्देशन दिएको बताएका छन् ।



