उपचारको क्रममा बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सकले दिनुपर्ने गरी सरकारले नया ऐन ल्याने तयारी गरेपछि चिकित्सकहरु आक्रोशित भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद बैठकले उपचारका क्रममा बिरामीको मृत्यु भए त्यसको क्षतिपूर्ति चिकित्सकबाटै भराउने गरी विधेयक निर्माण गर्न निर्देशन दिएको थियो ।
सो निर्देशन विवादास्पद भएको भन्दै चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले सरकारलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ । यदी ७२ घण्टाभित्र निर्णय फिर्ता नलिए देशभर आन्दोलनमा उत्रने संघले चेतावनी दिएको छ ।
सरकारले सो विधेयक निर्माण गर्न निर्देशन दिएको १२ घण्टा पनि नबित्दै संघले सरकारलाई यस्तो चेतावनी दिएको हो । संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तिमा सो निर्णयको विरुद्धमा संघको आन्दोलनमा ऐक्यवद्धता जनाइदिन अन्य संघ संगठनलाई पनि आह्वान गरेको छ । चिकित्सक संघले जारी गरेको विज्ञप्ति यस्तो छ ।



