काठमाडौं। प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिका बाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट बिहान ९: ३० बजे प्राप्त विवरणअनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण ढंगबाट मतगणना भइरहेको छ।

यसैबीच, रौतहटको गरुडा नगरपालिका–३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबीच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दर्ता गराएका छन्। सो विषयमा राजनीतिक सहमति कायम भएलगत्तै उक्त स्थानीय तहमा मतगणना पुनः शुरु हुने बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना शुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ। राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य शुरु हुने बताइएको छ। रासस