आधा घन्टाको प्रयासपछि बल्ल बागमती यातायात चढ्न सकियो । असाध्यै मुस्किल छ कार्यालय समयमा कलंकीबाट बानेश्वरसम्म पुग्न । गाडी चढ्नै गाह्रो, गाडीभित्र चढीसकेपछिको झनै सास्ती बढी ।

धूलो धुँवाको साम्राज्य छ । नचाही नचाही पनि खाल्डाहरुले उफारिरहन्छ । प्रसुति व्यथा लागेका बिरामी बोकेका एम्बुलेन्स सम्झन्छु । आफै‌लाई अत्यास लाग्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लाग्छ, सडकहरु नेपालका राजनीतिक दलहरुका प्रतिबिम्ब हुन् । स्मार्ट सिटीको सपना बाँढ्ने दलहरुका शीर्ष नेताहरुलाई दिनको दुई घन्टा राजधानीका धूले चोकमा ट्राफिकको जागिर ख्वाइदिनुपर्छ र सार्वजनिक यातायातमा यात्रा गराइदिनुपर्छ । आक्रोश बढेको बेला मनमनै यसरी जनकारबाही नै गरिन्छ नेताहरुलाई ।

यात्रा असाध्यै गाह्रो भएपछि यात्रुहरु नेतालाई गाली गर्न थाल्छन् । मभन्दा अग्ला एकजना शिक्षक रहेछन् मेरो अगाडि । उनी रन्किए, के को गाली गर्नुहुन्छ नेताहरुलाई ? तपाईं हामीले भोट हालेर जिताएको होइन र ! भोट हाल्ने बेला विचार गर्नुपर्‍यो नि !

उनको चर्को स्वरको कसैले प्रतिवाद गरेनन् । मलाई अचम्म लाग्यो, यस्ता शिक्षक पनि रहेछन् जसले राजनीतिक दलको विरोध गर्न सक्छन् र दलको झोला बोकेका छैनन् ।

होचो छु, नाक र मुख अग्लाहरुको काखीसम्म पुगेर अड्किन्छ । हलचल गर्न पाईंदैन । काठमाडौंमा पानीको अभाव छ । यो मेरो काठमाडौंको सार्वजनिक यातायात यात्राको सिकाई हो । खासगरी अग्ला मानिस धेरै नुहाउँदैनन् कि ? किनकी मेरो नाक ठोक्किनेहरु सधैं ह्वास्ह्वास्ती गन्ध फ्याँक्छन् । यस्तो शक्तिशाली गन्ध जुन राष्ट्रवादीहरुको भावनात्मक मन्तव्यभन्दा शक्तिशाली छ ।

न उनको रहर हो न मेरो रहर । भीड यस्तो थियोकि पछाडिकी नवयौवनाले आफ्नो वक्षस्थल मेरो ढाडको शरणमा छाडिदिइन् । हामी दुवैको लागि विकल्पविहिन विकल्प थियो हाम्रो शारीरिक अवस्था ।

थापाथली पुग्दा भीड अलि पातलियो । मुन्टो पछाडि फर्काएँ । आकाशतिर हेरिरहेकी युवती । जसको शरीर भीडमा छ, मन कहाँ कहाँ ? सम्भवत उनलाई थाहा नै छैन, उनको वक्षस्थलले मेरो ढाडलाई बसपार्क बनाइरहेको छ । अनुहारको रंग फुंग उडे पनि हिस्सी परेकी युवती । लाग्यो, खुसी भरिदियो भने कति राम्री देखिएली ।

बानेश्वरमा ओर्लिएँ । पछिपछि उनी पनि । फिस्स कृत्रिम हाँसोको एक झोक्का फ्याँकिन र हिँडिन् । अफिस पुगेँ । अनौठो झंकार पैदा भएछ मनमा । मानिसहरु भावनात्मक सम्बन्धको कुरा गर्छन् । के यस्तो हुँदैन शरीर नजिकिएपछि मन नजिकियोस् । शारीरिक स्पर्षले प्रवाहित गर्ने तरंगले जब विद्युतीय गतिमा शीरदेखि पैतालासम्म झट्का हान्छ, त्यसले हृदयका तारहरु पनि बजाउँछ । हामी मानिसहरु यति ढोंगी छौं कि आदर्श बन्ने नाममा प्रेममा शरीरको उपस्थितिलाई नै नगन्य बनाइदिन्छौं ।

हैट, एउटा युवतीको लागि कतिसम्म सोच्न थालेछु । म नियमित काममा फर्किएँ ।

साँझ बिजुलीबजार पुलमा पुगेँ । यताबाट कलंकी जान पनि त्यत्तिकै मुस्किल छ ।

जब म विदेश पुग्छु, त्यो देशलाई त्यहाँको सडकबाट चिन्न थाल्छु । मेरो देश जहाँ समाजवाद र साम्यवादको सपना यस्तै भत्किएको सडकमा दौडिने असंयोजनीय भद्रगोलताबाट दफारिएको सार्वजनिक सवारी साधनमा यातना भोग्दै देख्नुपर्छ ।

आधा घन्टा कुर्दा पनि बस चढ्न सकिएन । सडक किनारामा राखिएको प्रतिक्षालयमा शरीर बिसाएँ । दायाँपट्टि एउटी युवतीले फिस्स हाँसेर स्वागत गरिन् ।

‘कलंकी जान सकिएलाजस्तो छैन ?’ उनले बोली मिसाइन् ।

‘नगई पनि त भए नि,’ पहिले नै चिनजस्तो गरी मैले थपेँ ।

‘पत्रकार भएर हरेक दिन बेलुका घर गएर रातसाँझका खबरहरु कसले लेख्छ ?’ उनको प्रश्नले मेरो मनको तलाउमा छप्ल्याङ्ग ढुंगा हान्यो । कसरी चिनिन् यिनले ! मैले त चिनेको छैन ।

‘कसरी चिन्नुभयो ? मैले त चिनेको छैन !’

मेरो प्रश्न अस्वभाविक थिएन तर, उनको जवाफ अस्वभाविक आयो, ‘चिनजान सधैं दुईतर्फी नहुनसक्छ । तर, म चाहन्छु, हाम्रो चिनजान तुईतर्फी नै होस् ।’

‘हुन्छ, ठिकै छ । लिनुहोस् मेरो भिजिटिङ कार्ड । फेसबुकमा पनि यही नाम छ है,’ सबै कुरा सकिदिएँ । उनलाई सबै आवश्यक नपर्न पनि सक्थ्यो ।

‘निर्जीव भिजिटिङ कार्डले मात्र कथाको माग पूरा नहोला जस्तो छ आज । केही सजीव कुराकानी गर्नुछ जिन्दगीका ।’

‘हैट !’ मनले आवाज ननिकाली बोल्यो । यी सबै कुरा अप्रत्यासित थिए मेरा लागि । करिब तीन वर्ष भयो यही बाटो ओहोरदोहोर गरेको । तर, यस्तो प्रस्ताव कहिल्यै आएको थिएन ।

‘के भो ? किन आत्तिएको ?’ प्रश्न थपियो ।

मैले नबोलेको कुरा उनले सुनिछिन् कि के हो ? स्वभाविक बन्दै भनेँ, ‘कथाले निरन्तरतामा क्रमभंग खोज्यो । अचानक चिजहरु परिवर्तन हुँदा हल्का सन्तुलन बिग्रिहाल्छ नि !’

सुदर्शन खतिवडा

कालो बादल लागेको आकाशतिर हेर्दै उनी गम्भीर बनेर बोलिन्, ‘तपाईंले के-के सोच्नुभयो, मलाई थाहा छैन । तपाईंलाई एक पत्रकारको रुपमा चिनेकी छु र त्योभन्दा पनि बढी केही पुराना चिनजानहरु छन् ।’

‘बढी के सोचेँर ?’ आफैंलाई प्रश्न गरेँ । हैट, हामी पुरुषहरु । नचाहिने बेला पनि मन अग्रगामी बन्दिहाल्छ ।

‘त्यति धेरै सोचिहालेको त छैन हो ।’ जिब्रोबाट नभन्नुपर्ने कुरा चिप्लिएपछि सम्हालिँदै भने, ‘भन्नुहोस्, म के गर्न सक्छु ।’

‘अहिले यत्ति बुझ्नुस्, म चुनाव हारेकी युवती हुँ । जित्नेहरुको लम्बेतान कथाहरु लेख्नुभाछ तपाईंहरुले । हामी हार्नेहरुलाई पढ्नुस्, लेख्नुस्,’ उनको स्वभाविक प्रस्ताव थियो ।

घडी हेरेँ । ७ बजिसकेछ ।

‘ठिक छ, यहाँ सडकमै के बस्नु ? जाऔं नजिकै कतै कफी गफ गरौं ।’

‘मैले भने नि चिया, कफीले पुग्नेवाला छैन । घडी हेरेर चुनाव हार्ने हामीजस्ता नवयौवनाहरुको ध्वस्त जीन्दगी तपाईंले पढ्न सक्नुहुन्न । मनले मन पढ्नुपर्छ । हाम्रो जीवनभित्र पस्नुपर्छ ।’ अलमलमा परेँ ।

‘शरीर पढ्ने भनेर त मैले पनि भनेको छैन नि’ भन्दिऊँजस्तो लागेको थियो तर, सम्हालिएँ ।

चुनाव हारेकी युवती भन्नासाथ मनभित्र अनेकानेक एंगलहरु जन्मिन थाले । अनलाइनमा काम गर्न थालेपछि त एंगलभन्दा पहिला हेडलाइन फुर्न थाल्छ । तरंगहरुमा तैरिँदै उनलाई हेरेँ, पहिलेभन्दा गहिरिए । कार्टुनको पत्लुलाई जस्तै आइडिया फुर्‍यो, ‘म कलंकी बस्छु । जाऔं, उतै बसम् । रातभरी गफ गरौंला ।’

उनको अनुहार फेरियो । मलाई डर लाग्यो । थपिहालेँ, ‘म्याडम पनि हुनुहुन्छ र एकजना छोरा पनि ।’

फिस्स हाँस्दै भनिन्, ‘मेरो एउटा प्रस्ताव छ । सुन्धारातिर गएर बसौं । आज मलाई धेरै पोखिनु छ ।’

म झनै अलमलमा परेँ । ‘र, तपाईंको परिवारको बारेमा मलाई थाहा छ । म तपाईंको फेसबुकमा साथी छु र तपाईंलाई नियमित पढ्ने गर्छु,’ उनले अझै थपिन् ।

म झनै अलमलमा परेँ । के के सोच्दासोच्दै १० मिनेट बितिसकेछ । आधा पत्रकार भएर सोचियो, चौथाई पुरुष भएर र चौथाई लोग्ने भएर ।

‘उठ्नुस्, जाऔं ।’ मैले निर्णय सुनाएँ ।

‘कहाँ ?’

‘जहाँ तपाईं राम्रोसँग खुल्न सक्नुहुन्छ र तपाईलाई राम्रोसँग खुलाउन सक्छु !’

जाने प्रस्ताव उनकै हो । मेरो शब्दचयन मिलेन कि ? उनी उठिनन् । जमिनतिर हेरिरहिन् ।

‘केही समस्या छ ? ठिक छ, अन्त नजाने भए मेरै रुममा जाऊँ ।’

मेरो कुरा सुनेर पुनः फिक्का हाँसिन् । ‘आखिर पुरुष भनेका पुरुष नै हुन्छन् । धेरै कुरा सोचिभ्याउँछन् । खासमा, मसँग पैसा छैन । लगानी तपाईंकै हुनुपर्छ ।’

‘म पुरुष बनेर जाँदै छैन, पत्रकार बनेर जाँदैछु । ठिक छ, खर्चको तनाव नलिनुस् । जाऔं ।’

बसमा म प्रश्नहरुसँग रमाउन थालेँ । केही पत्रकारका प्रश्न । केही पुरुषका प्रश्न । उनी पनि चुपचाप बसिन् ।

सुन्धारा झरेर सिधै होटेलतिर लागेँ । ‘कोठा कतिवटा ?’ मैले सोधेँ । खास प्रश्न मैले होइन, यसपटक खल्ती बोलिरहेको । एउटा पत्रकार । पैसाले सधैं खुम्च्याउँछ ।

‘एउटै भए हुन्छ, बेडको निर्णय तपाईं गर्नुस्, एउटा वा दुईटा । तर, तपाईंलाई म सुत्न दिने छैन ।’

काउन्टरका दाइ चिनेका । लाजले पानी पानी भएँ ।

‘केही कुराकानी गर्नुछ । एक दुई घण्टामा फर्कन्छु म । एउटै कोठा भए हुन्छ,’ मनमनै सोचेँ, यी दाई सुतिहाल्छन् । म निस्किएको ननिस्किएको यिनलाई के थाहा ।

दुई कुर्सी, एक टेबल । अगाडि ठूलो ऐना । एउटा ठूलो बेड । कोठाको शरणमा पुगियो । अब जे हुन्छ यही कोठाभित्र हुन्छ ।

मन डराइरहेको छ । एकप्रकारको रोमाञ्चकारी डर । ‘म एक चुनाव हारेकी युवती हुँ’ भन्ने वाक्य प्रतिध्वनित भइरह्यो । यसपटक केही गर्नै पर्छ ।

मौनता चिर्दै सोधेँ, ‘केही खाजा खानुहुन्छ कि सिधै खाना खाने ?’

‘मलाई तिमी भन्दा हुन्छ, उमेरमा म तपाईंभन्दा ८ वर्ष कान्छी छु । तपाईंले म आठ कक्षामा पढ्दा मेरो स्कूलमा आएर भाषण गर्नुभएको थियो । छापामार हुनुहुन्थ्यो तपाईं । म त्यही बेलादेखि तपाईंलाई चिन्छु ।’

आठ कक्षामा पढ्दा तपाईं आउनुभएको थियो मेरो स्कूलमा । तपाईंको भाषण सुनेर म विद्यार्थी संगठनमा संगठित भएँ । राजनीति भनेको एउटा चेन पनि रहेछ । तपाईंले नै बाँधिदिनुभएको हो मेरो मष्तिष्कमा राजनीतिको दाम्लो । पछि पूर्णकालीन भएँ ।

म अक्क न बक्क भएँ । उनले अझै थपिन्, ‘खाना खाँदै गरौंला । तपाईं पिउनुहुन्छ केही ?’

राजनीतिक प्रसंग र पिउने कुराले रोमाञ्चकता कुलेलम ठोक्यो । म केवल डराउन मात्रै थालेँ । होटलको एक्लो कोठा, युवतीसँग रात बिताउने, चिनेका होटेल मालिक, प्रहरी छापा आदि आदि । हैट ! पत्रकार पो हुँ त । निर्वाचनबारे राम्रो स्टोरी उठाउँदैछु त । किन डराउनु । ‘जोर्नालिस्टिक प्रिभिलेज’ले साहस भरिदियो ।

‘म खासै पिउँदिन । तिमी पिउँछौं ?’

‘मैले त अहिलेसम्म पिएको छैन । तर आज पिउन मन छ । किनकी म आज छताछुल्ल हुन चाहन्छु ।’

हामीले गिलास ठोक्कायौं । यसरी पिइन् कि मरुभूमिमा पानी भेटिएको होस् । मुख बिगार्दै भनिन्, ‘अब एक गिलास, त्यसपछि पिउँदिनँ ।’

मैले रोकेँ ।

‘हुँदैन ।’

उनले भनिन्, ‘आज मलाई नरोक्नुहोस् ।’

डराई डराई थपिदिएँ । आधा प्लेट स्न्याक्स् सिनित्त पारेपछि फेरि आधा गिलाँस सुईंक्याइन् । म असंयोजनीय भद्रगोलतामा बिथोलिएँ । कहाँबाट सुरु गर्ने ?

‘प्रश्न सोच्दै हुनुहुन्छ ? म तपाईंलाई अप्ठेरो पार्दिनँ ।’ एकपटक मन खोलेर हाँसिन् । ओछ्यानमा गएर पल्टिइन् । म के गरौं ? हैट ! कता फसियो आज ? मोबाइल घ्यार घ्यार गर्न थाल्यो । भाइब्रेसन मोडमा रहेछ । श्रीमतीको फोन !

‘हेल्लो ! म आज बाहिरै बस्छु । आज एउटा स्टोरी गर्दैछु । त्यस्तै भयो । भोलि कुरा गरौंला । राम्रोसँग बस । बाई ।’ सुनिनँ, मात्रै बोलेँ र फोन राखिदिएँ ।

म रेस्टरुमबाट बाहिर निस्कँदा उनको कुर्सीमा पुनरागमन भइरेको रहेछ । उनी सिलिङतिर हेर्दै बोल्न थालिन्, ‘आठ कक्षामा पढ्दा तपाईं आउनुभएको थियो मेरो स्कूलमा । तपाईंको भाषण सुनेर म विद्यार्थी संगठनमा संगठित भएँ । राजनीति भनेको एउटा चेन पनि रहेछ । तपाईंले नै बाँधिदिनुभएको हो मेरो मष्तिष्कमा राजनीतिको दाम्लो । पछि पूर्णकालीन भएँ । युद्धको क्रममै एकजना कमाण्डरसँग विवाह भयो । तपाईंले पनि चिन्नुहुन्छ कमरेड संकल्प ।’

बाँकी आधा गिलास पनि सिध्याइन् । केही क्षण मुख बिगारेकी उनको मुख बिग्रिएको बिग्रियै भयो । आँखाबाट यति धेरै आँसु बग्न थाले कि लाग्यो, अल्कोहल मिसिएको झोल पदार्थ त पिसाब होइन, आँसु बनेर निस्किरहेको छ ।

आँसुको स्खलन मेरो असाध्यै ठूलो कमजोरी हो । रुने मानिसलाई म कसैगरी सम्झाउन सक्दिनँ । कहिलेकाँही यस्तो अवस्था आउँछ- म आफैं यति साह्रो रुन्छु कि पहिला रुने मान्छे नै बाध्य भएर मलाई सम्झाउन आउनुपर्छ ।

‘नरोऊ । यो संसार असाध्यै निर्मम छ । हाम्रो आँसुले त्यसलाई पगाल्न सक्दैन । बरु हामी आफैं रित्तिन्छौं,’ सम्झाउन खोजेँ ।

‘अब रित्तिन के बाँकी छ र ?’ भक्कानो फुटाउँदै रुन थालिन् । आँसु र सिंगानको मिश्रणले मेरो मनमा माया र घृणाको दुवै भाव मिसिएर अनौठो भावनाको रसायन निस्कियो कि । माया र घृणाले मनभित्रै चाकाचुली खेल्न थाल्यो । सायद, मान्छेलाई सधै‌ करुणाको भावनाले जित्नेगर्छ ।

झनै, कमरेड संकल्प र जनयुद्ध भन्नासाथ म विगतप्रति असाध्यै नोस्टाल्जिक बन्न पुग्छु । यो भन्दा आत्मीय सम्बन्ध अरु कुनै लाग्दैन । भाव पक्ष प्रधान हुनु कमजोरी हो भनिन्छ तर, कमजोरी नै भए पनि म यसलाई जोगाएर राख्न चाहन्छु । किनकी मेरो जीवनको ऊर्जाशील डेढ दशक मैले यो अभियानमा खर्चिएको छु ।

रोएको मान्छे फकाउनु मेरो लागि सबैभन्दा अप्ठेरो काम हो ।

‘दुनियाँसग हार्नेले एकदिन फेरि इतिहास रच्न सक्छ तर, जो आफैंसँग हार्छ उसले चाहेर पनि कहिल्यै जित्न सक्दैन,’ गम्भीर मुद्रामा दर्शन छाँटिदिए । सिकेकै यस्तै छ अरु के दिनु र !

‘मैले हारेको छैन, हार्दिनँ । तर पीडा पोख्ने ठाउँ कहीँ छैन । म आज पोखिन चाहन्छु ।’

कुरा सुनेर झनक्क रिस उठ्यो । खासै नपिउने हुनाले दुई गिलास बियरले पनि काम गर्छ । ‘पीडा पोख्न म मात्रै छु यार !’ फुस्किइहालेछ । बोलेको कुरा फिर्ता लिन मिल्दैन । उनी झन रुन थालिन् ।

‘झण्डै बिहानैदेखि चिनजान भाको । अहिलेसम्म मैले त नामै सोध्न भुलेछु,’ प्रसंग बदल्न खोजेँ ।

‘मेरो नाम कमरेड कोपिला ।’

‘हैट मजाक नगर न । यो त मेरो नाम थियो कुनै बेला,’ स्थितिलाई सम्हाल्न खोजेँ तर, मलाई उनको नामसँग कुनै रुचि थिएन ।

‘हो, त्यही भएर तपाईंलाई पीडा पोख्ने मेरो हक छ । विशेष हक छ । तपाईंले मिठा मिठा कुरा नगरेको भए म राजनीतिमा लाग्दिन थिएँ । म तपाईंका कुराबाट यतिसम्म प्रभावित थिएँ कि मैले पूर्णकालीन भएपछि मेरो नाम नै तपाईंको नाम बनाइदिएँ ।’

बेकार सोधेछु नाम । म झन ठूलो झाडीमा फसेजस्तो लाग्यो । युद्धको बेला धेरै मानिसहरुलाई संगठित गरियो । कति त आफ्नै कुरा सुनेर राजनीतिमा पूर्णकालीन समेत भए । कतिको प्रगति भएको छ कतिको दुर्गति । खासमा प्रगति केलाई भन्ने, दुर्गति केलाई ? जब मनमा यस्ता प्रश्नहरु उठ्न थाल्छन्, सानोतिनो तुफान नै आउनथाल्छ ।

अहिले राजनीतिबाट अलि टाढा छु । राजनीतिको पनि कोर्ष फेरिएको जस्तो लाग्छ । माओवादप्रति मेरो लगाव छैन । तर, विगतबाट छुट्टिएर बाँच्न सकिँदैन । यसको अर्थ म छुट्टन चाहन्छु भन्ने पनि होइन । व्यवस्था परिवर्तन गर्ने उत्कर्षको आन्दोलनमा मेरो लगानीप्रति म सधैं गर्व गर्छु । हुन त, कुपोषणबाट र हात धोएर खाना खानुपर्छ भन्ने नजान्दा मात्रै वर्षमा १५औं हजार बालबालिका मर्छन् । अन्य रोग र भोकका कुरा नगरौं । तर १० वर्षमा ज्यान गुमाएका १५ हजारको लास गनेर जागिर पकाउनेहरु अझै यही समाजमा अनगिन्ती छन् ।

शासकीय असक्षमताले प्रतिवर्ष मर्ने हजारौं निर्दोषहरुको लास कसैले गन्दैन । प्रतिदिन ३ देखि ४ जनासम्म बाकसमा पोको परेर विदेशबाट फर्काइएका नवजवानहरुको लास कसैले गन्दैन । क्रोधले अनायक टेबलमा मुट्ठी ठटाएछु । पिँधमा बाँकी रहेको दुवै जनाको मादक पदार्थ पोखियो ।

‘माफ गर्नुहोला । मैले रोजेको बाटोप्रति तपाईंको कुनै दोष छैन । भावावेशमा आएर भनेछु । तर, त्यति भन्न मैले पाउँछु । म मैले रोजेको बाटोप्रति स्वतन्त्र छु र आफैं जिम्मा लिन सक्छु’ उनको स्पष्टीकरणले मलाई झनै चिथोर्‍यो ।

‘तिम्रो कुराले कति पनि होइन, मेरो मनभित्रको आँधीसँग म आफ्नै कारण उतारचढावमा छु,’ तन्द्राहरुबाट मुक्त हुन खोजेँ ।

अचानक ढोकामा ढकढक आवाज आयो । मन आत्तियो । कतै प्रहरी पो आउँछ कि ? दुनियाँको समाचार लेखिराको, आज आफैं पो समाचार बनिन्छ कि ?

मैले सोचिनभ्याउँदै उनले ढोका खोली सकिछिन् । खाना खान अबेला भइसकेछ । खाना माथि नै मगाएँ ।

‘खाँदा बोल्नुहुँदैन,’ मैले नियम बनाएँ, ‘खाएपछि जति पोखिनु छ पोखिउँला नि !’ माहोल बदल्न मन लाग्यो ।

‘सुन्नुहोस्, लामो कथा भनेर राम्रो र प्रभावकारी हुने होइन । तपाईंको भोलि काम होलान् । सुत्नुपर्छ । म छोटैमा केही कुरा भन्छु । भावनाले मात्रै केही हुँदैन,’ खाना सक्नासाथ बिनाकुनै पृष्ठभूमि उनले सुरु गरिन्, ‘पर्वतमा एउटा आत्मघाती विष्फोटमा संकल्प सहिद भए । संसारलाई सम्झाउन सक्छुजस्तो लाग्ने मान्छेले आफैंलाई सम्झाउन मुस्किल हुनेरहेछ । यति गह्रुंगो पहाडले थिच्यो नि जीवनमा, सपनाहरु कहिल्यै नजोडिने गरेर चर्किए…,’ एकछिन टक्क रोकिएकी उनी पुनः भक्कानिएर रुन थालिन् ।

‘प्रेम परमात्माको व्यवस्था हो, विवाह मानिसको व्यवस्था,’ आफैं ओशो बनेर बोल्न थालेँ, ‘संकल्पजी नभए पनि उहाँलाई तिमीले प्रेम गर्न सक्छौं । यो त एउटा विश्वास पनि हो । रह्यो विवाहको कुरा । मानिसले बनाएको व्यवस्था न हो ।’

‘कहिलेबाट अध्यात्मतिर लाग्नुभयो, परमात्माको कुरा गर्न थाल्नुभएछ ?’ मेरो मुखबाट ओशोका क्यासेट बजेको सुन्दा प्रायः सबैले यस्तै प्रश्न गर्छन् । उनले अगाडि थपिन्, ‘हेर्नुस्, सम्झाउन सजिलो हुन्छ, सम्झन बहुत मुस्किल ।’

केही क्षणको मौनतापछि उनी बोल्न थालिन् । युद्धको बेलामा त सम्हालिन सजिलो थियो । वातावरण नै त्यस्तै थियो । दिनदिनै सहादत । दिनदिनै क्षति । हाँस्दा हाँस्दै रुने र रुँदारुदै हाँस्ने भनिदिन्थे नि नेताहरुले … ! तर, शान्ति प्रक्रियापछि दिक्दारी बढ्न थाल्यो । सुरुमा हरेक वर्षको एक दिन श्रद्धाञ्जली गर्न लोकल पार्टी आउँथ्यो । वर्षको एक घन्टा औपचारिकता निभाउँथे । के खायो के लायो कहिल्यै कसैले सोधनेन् । केही समय केही औपचारिकता निभाए । आखिर जीवन बाँच्ने त अनौपचारिक नै रहेछ । कति लम्बेतान र पीडादायी हुन्छ यो । यस्तो जीवनको सुरुङ जसको अन्त्य र एक चिम्टी प्रकाश पनि कहिल्यै देख्न पाईंदैन । … पछि त त्यही पनि बिर्सिए …’

‘एक्लै बिताउनु पर्ने हरेक सेकेन्डहरु पीडादायी हुँदो रहेछ । वर्षको एकदिन फोटोमा माला लगाइदिएर के हुने हुन्थ्यो र ? तैपनि उहाँको सम्मान हुँदा मन प्रसन्न हुन्थ्यो । हुन त मेरो संकल्प र हजारौं सहिदहरुको तस्बिरको व्यापार अहिले पनि भइरहेको छ । त्यही सहिदका तस्बिर बेचेर नेताहरु नवधनाढ्य बनेका छन् । अभिजात वर्गमा फेरिएका छन् । आर्थिक सत्ता कब्जा गर्न नसक्नेहरु पार्टीको बेवास्तामा परेका छन्, गुमनाम जीवन बाँचिरहेका छन् । के यस्तै व्यवस्था ल्याउन हजारौं सहिद भएका थिए त ? मुट्ठीभर मान्छेहरुलाई नवधनाढ्य बनाउन त पक्कै थिएन । जित्नुपर्ने त देश र जनताको गरिबीलाई थियो । नेताहरुले त आफ्नै भौतिक गरिबीलाई जिते तर, मनको गरिबी यति बढाए कि सहिदका सपनाको सम्बोधन हैन तस्बिर बेचेर बाँचिरहेका छन् ।’

त्यही चित्रहरुले कोपरोस्, दफारोस् र कुम्भकर्णहरुको निन्द्रा खुलोस् । थाहा पाउन् सबैले देश कसरी बर्बाद भइरहेको छ । लोकतन्त्रको अस्थिपञ्जर निर्वाचनमा कसरी क्यान्सर फैलिरहेको छ र नेपाल आमालाई संक्रमित बनाइरहेछ …’

‘चुनाव हार्‍यौ भनेकी हैनौं ? निर्वाचनमा कसरी उठ्यौ त ?’ शान्ति प्रक्रियापछि हरेक उतारचढावहरु आफैंले भोगेकोले सुन्ने धैर्यता देखाउन सकिनँ । यो बीचमा यस्ता धेरै समाचार, रिपोर्ट र ब्लग लेखियो, हरेक कोपिलाहरुको जीवन आफैंले भोगेजस्तै लाग्छ ।

‘त्यही त हो, नयाँ संविधान बन्यो । स्थानीय तहको चुनाव हुने भयो । उपमेयरको उम्मेदवारमा महिला चाहिने । मेयरमा युद्ध लडेका कमरेडहरुले भाग पाएनन् । ठेकदार, दलाल र पैसावालहरु उठे । उपमेयरमा सहिद परिवार भन्दै मलाई उठाए । महिला नै चाहिने रहेछ । तैपनि खुसी नै लाग्यो । कति खर्चिलो छ निर्वाचन तपाईंलाई थाहा नै छ । ऋण धन गरेर चुनाव लडेँ तर, थोरै मतले चुनाव हारेँ । मैले गरेको खर्च ठूलो होइन तर, मेरो लागि धेरै ठूलो पनि हो । संकल्पको नाममा आएको रकमले जग्गा जोडेकी थिएँ, त्यही बेचेर चुनाव लडेँ । उसको याद आउँदा त्यही जमिनमा पुगेर घन्टौं पल्टन्थेँ । अब त त्यही पनि रहेन । ऋण नै ऋण छ । पदमा नपुग्नेलाई आफन्त र समाजले गर्ने व्यवहार पनि फरक हुने रहेछ …’

‘यो त सामान्य कुरा हो नेपालको लागि । झण्डै झण्डै दक्षिण एसियाको लागि । चुनाव जित्न अकूत खर्च गर्ने र चुनाव जितेपछि त्यही रकम उठाउने ब्याजसहित,’ मैले सामान्यीकरण गर्न खोजेँ ।

‘त्यस्तो होइन, तपाईंले भनेको कथा जित्नेहरुको हो । मैले सुनाउन लागेको कथा हार्नेहरुको हो । हरेक जित्ने उम्मेदवारसँगै हार्ने ३/४ जना उम्मेदवार हुन्छन् । यो निर्वाचन प्रणालीको दुश्चक्रमा उनीहरु कसरी पिल्सिएका छन्, तपाईंलाई थाहा छ ?’

‘हो, प्रचण्डले युद्धको बेला भन्थे, हामीले जितेका युद्ध मात्रै पढ्छौं । हारेका युद्धहरु पढ्नुपर्छ, अझ धेरै सिकिन्छ,’ मैले कुरा पूरा नगर्दै उनी बीचैमा बोलिन्, ‘छाडिदिनुस् सर, सिद्धान्तका गफ, तपाईंले सक्नुहुन्छ भने मेरो जीवन व्यवहार पढ्नुहोस् र लेख्नुहोस् म र मजस्ता चुनाव हारेका निकटम् प्रतिद्वन्द्वीहरुको वियोगान्त कथा पनि ।’

‘पार्टीले खर्च दिएन । नेता र तिनका सन्तानहरुका लागि त अकूत खर्च गर्छन् रे त ?’ रुख्खा सुख्खा प्रश्न सोधेँ ।

‘तपाईं मुर्ख हुनुहुन्छ यस्तो प्रश्न सोध्न ? तपाईंले नै बनाएका नेता होइनन् ? कस्ता छन् चिन्नुहुन्न ? बरु लेख्नुस् न ताला लगाएर राखिएका यस्ता तथ्यहरुलाई । खोइ, सक्नुभएको ?’

मेरो क्षमतामाथि प्रश्न उठाएपछि मलाई पनि झोक चल्यो र कुरा काटिहालेँ, ‘तिमीले पनि जितेको भए भ्रष्टाचार गरेर ऋण तिर्ने थियौ । हारेऊ, के गर्ने त ?’

उनी अलि गम्भीर देखिइन् । ‘हेर्नुहोस्, सवाल मेरो हैन, सवाल प्रणालीको हो । हामी यही व्यवस्थाको दास भएका छौं । मानिसले दास बनाउनुपर्ने हो नि व्यवस्थालाई । ‘भिसिअस सर्कल अफ पोभर्टी’ भन्छन् नि । गरिबका सन्तान गरिब हुने । कुपोषित हुने । शिक्षा कम पाउने । गरिबसँगै विवाह गर्ने, गरिब सधैं गरिब रहने भनेजस्तै …’

‘हो, हाम्रो निर्वाचन प्रणालीलाई पनि भिसिअस सर्कल अफ इलेक्सन भनिदिने त ?’ बल्ल पत्रकारजस्तो भएर प्रश्न गरेँ ।

‘जेसकै भन्नुहोस् । तर, तपाईहरुले जित्नेहरुको मात्रै होइन, उनीहरुको भन्दा हार्नेहरुको चित्र ल्याइदिनुहोस् । यस्तो नांगो चित्र जसलाई हेरेर निदाएकाहरु मात्र होइन, निदाएको बहाना गर्नेहरु पनि ब्युँझिऊन् । उनीहरु मौन बस्नै नसकून् । त्यही चित्रहरुले कोपरोस्, दफारोस् र कुम्भकर्णहरुको निन्द्रा खुलोस् । थाहा पाउन् सबैले देश कसरी बर्बाद भइरहेको छ । लोकतन्त्रको अस्थिपञ्जर निर्वाचनमा कसरी क्यान्सर फैलिरहेको छ र नेपाल आमालाई संक्रमित बनाइरहेछ …’

उनले धाराप्रवाह बोलेका कुराहरु मैले यहाँ उतार्न सक्दिनँ । उतार्‍यो भने न कथा बन्छ न उपन्यास न निबन्ध ।

कमरेड कोपिलाले लामो मन्तव्यपछि लामै श्वास फेरिन् । ओछ्यानमा गएर पल्टिइन् । फेरि जुरुक्क उठेर भनिन्, ‘आज म एकदमै हल्का भएको छु । सानै उमेरमा र छोटै समयमा यतिधेरै जीवन बाँचिएछ कि अनुभूतिहरु गह्रुंगो हुनेगरी चाङ लागेर बसेछन् । अब फेरि गह्रुंगो हुन्जेल बाँच्न मन छैन ।’

बाँच्न मन छैन भन्ने सुन्दा डर लाग्यो । ‘अमूल्य जीवन बाँचेर देखाइदिनुपर्छ’ भनेर दुईचार लाइन चारवाक दर्शन पढाइदिएँ । ऋण गरेर भने पनि घिऊ खाऊ आदि आदि ।

‘थाहा छ कोपिला सर ! मैले आज कस्तो अनुभूति गरिराछु ?’

हँ, म कसरी कोपिला सर ! १६ वर्ष अगाडिको ४५ मिनेटको क्लासमा ३ सेकेन्डमा भनेको नाम पनि कसरी कन्ठ गरेकी ।

‘जतिबेला तपाईंले म बालिका हुँदा कक्षा दिनुभएको थियो नि, मलाई रहर थियो तपाईंलाई अगाडि राखेर म आफैं कोपिला बनेर क्लास दिन । आज दिएँ नि हैन ? यो सब रक्सीको करामत !’ विजयको एक ओठ मुस्कान फ्याँकिन् ।

मानिसहरु बोल्छन् आफू, गर्छन् आफू र दोष रक्सीलाई दिन्छन् । राजनीतिमा पनि यस्तै भइरहेको छ कि ?

‘मेरो होस् खुलेको छ कोपिला, म अब लेख्न थाल्नेछु हार्नेहरुको कथा । जसले उठाउनेछ यति शक्तिशाली प्रश्न कि जिर्ण व्यवस्थाहरु प्रश्नको प्रहारले नै भत्कन सुरु गर्नेछन् …’

ओछ्यानमा पल्टिएकी उनी कतिबेला निदाइन पत्तै भएन । उनलाई हल्का मापसेको प्रभाव थियो कि ?

निदाउन खोजेँ, सकिनँ । अनायसै युद्धमा लागेका दिनहरु सम्झन थालेछु । स्कूलहरुमा संगठन बनाउँदै हिँडेको । सपनामा मैले बेञ्चमा बसेर मलाई सुनिरहेकी कोपिला खोजिरहेको थिएँ ।

बिहान ७ बजिसकेछ ब्युँझँदा । कोठा रित्तै थियो । टेबलमा एउटा टुक्रा कागज थियो र कागजमा कोरिएको थियो चार अक्षरको प्रश्न– ‘सुसाइड नोट लेख्न आउँछ ?’

प्रश्नले झस्कायो तर, मसँग न उनको नम्बर थियो न ठेगाना ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम आइरहेको थियो । राष्ट्रिय समाचार समितिमा चार लाइनको समाचार आएको रहेछ । ‘२५ वर्षीय युवतीद्वारा रुखमा झुण्डिएर आत्महत्या ।’ चार लाइनको समाचारको अन्तिममा लेखिएको थियो, ‘आत्महत्या गर्ने युवती गत स्थानीय निर्वाचनमा उपमेयर पदमा पराजय भएकी थिइन् ।’

पर्सबाट उनले छाडेको कागजको टुक्रा झिकेँ र पढेँ, ‘सुसाइड नोट लेख्न आउँछ ?’ अनायसै आँखाबाट आँसु चुहिएछन् र ‘सुसाइड नोट’ शब्दमा चुहिए । मसि फुलेर अक्षर मोटा देखिन थाले । मैले संसार पनि धुमिल देखेँ ।

मनमनै दृढ निश्चय गरेँ, ‘कोपिला तिम्रो सुसाइड नोट म लेख्दिनँ । किनकी तिमीले त आफूसँगै हार्‍यौ, तिम्रो गल्ती अक्षम्य छ । बरु म मुग्लान भासिनेहरुको कथा लेख्छु, चुनाव हारेकाहरुको कथा लेख्छु ।’ साझा पोस्ट बाट साभार