काठमाडौं, २५ असोज — ग्वालियर राजघरानाकी राजमाता विजयाराजे सिन्धियाको भोलि जन्मदिन पर्छ । विजयाराजेको जीवनका अनेकौं रमाइला घटनाहरू छन् ।
उनले लेखेको इच्छापत्रले सबैलाई छक्क पारेको थियो । उनले इच्छापत्रमा सम्पत्ति बाँडेकी थिइनन् र आफ्नो छोराले अन्तिम संस्कार पनि नगरोस् भनी लेखेकी थिइन् ।
आफ्नो छोरा माधवराव सिन्धियालाई महलमा बस्नका लागि भाडा असुल्थिन् विजयाराजेले ।
माधवरावले सन् १९६६ मा नेपालको शाही खानदानमा बिहे गरेका थिए । बिहेभन्दा अघि माधवरावले उनकी आमाले माधवी राजेको फोटो मात्र देखाएकी थिइन् ।
नेपालको राणा खानदानकी किरण राज्यलक्ष्मीको फोटो देख्नेबित्तिकै माधवरावले स्वीकार गरेका थिए । त्यसअघि शाह परिवारका केटीको फोटो हेरेर उनले इन्कार गरेका थिए ।
किरण राज्यलक्ष्मीले माधवरावसँग बिहे गरेपछि विजयाराजेले उनको नाम परिवर्तन गरेर माधवी राखिदिइन् ।
पचास वर्षअघि जयविलास दरबारसम्म रेल लाइन हालेर माधवराव सिन्धियाको जन्तीका लागि विशेष ट्रनको व्यवस्था गरिएको थियो ।
आठवटा बोगी भएको यो ट्रेन दरबारसम्म आयो र लगभग १५० शाही जन्ती यसमा चढेर दिल्ली गए ।
माधवरावका ससुराली खानदानले दिल्ली आएर छोरीको बिहे गराएका थिए । बिहेमा भारतका सबै शाही खानदानका मानिस उपस्थित थिए ।
माधवरावले कांग्रेस पार्टीमा प्रवेश गरेपछि भने विजयाराजे उनीसँग रिसाइन् । उनी आफू चाहिँ जनसंघमा थिइन् ।
पहिला त विजयाराजे पनि कांग्रैसमै थिइन् तर इन्दिरा गान्धीले राजघरानाका लागि पैसा दिन बन्द गरेपछि दुईजनामा मतभेद भयो ।
इन्दिरा गान्धीले संकटकाल लगाउँदा प्रहरीले विजयाराजेलाई लट्ठीले हानेको थियो र जेलमा कोचिदिएको थियो ।
आफ्नै छोरा माधवले आफूलाई पक्राउ गराएको उनको आरोप थियो । त्यसैकारण दुईजनाको सम्बन्ध बिग्रेको थियो ।
रिसकै सुरमा उनले माधवसँग ग्वालियरको जयविलास दरबारमा बस्नलाई भाडा असुलेकी थिइन् । उनले माधवसँग एक वर्षको भाडा मागेकी थिइन् ।
एजेन्सी/ लोकान्तर



